Sunday, November 8, 2026
Homeसामाचारसाउन १५ मा खीर खाएर मनाइँदै: स्वास्थ्य, परम्परा र सामाजिक मेलमिलापको समिश्रण

साउन १५ मा खीर खाएर मनाइँदै: स्वास्थ्य, परम्परा र सामाजिक मेलमिलापको समिश्रण

काठमाडौँ, १५ साउन — आज साउन १५ का अवसरमा नेपाली समाजमा परम्परागत रूपमा खीर खाएर पर्व मनाइँदैछ। वर्षा ऋतुका दुई प्रमुख सामाजिक परम्परामध्ये असार १५ मा दही च्यूरा र साउन १५ मा खीर खाने चलन प्राचीन कालदेखि चलिआएको हो।

विशेषज्ञहरूका अनुसार, साउने झरी र चिसो मौसममा दूध, मरमसला र अन्य पोषिलो वस्तु मिसाएर बनाइने खीरले शरीरलाई ऊर्जा र ताप प्रदान गर्ने भएकाले यस्तो परम्परा बसालिएको हो। संस्कृत भाषामा पायस भनिने खीरलाई सात्विक आहारमध्ये सर्वोत्तम मानिन्छ, जसका कारण वैदिक कर्मकाण्ड, पितृकार्य र देवपूजामा यसको प्रयोग गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार, “साउन महिनामा हरियाली बढ्ने, घाँस प्रशस्त पाइने र गाई–भैँसीले दूध धेरै दिने समय भएकाले घर–परिवार र आफन्तलाई खीर खुवाउने परम्परा बसेको हो। खीर स्वास्थ्यका दृष्टिले पनि फाइदाजनक भएकाले यो चलन आजसम्म कायम छ।”

गौतमका अनुसार, साउन भगवान् शिवको विशेष महिना भएकाले शिवलाई मनपर्ने दूधजन्य परिकार—जसमा खीर पनि पर्छ—चढाउने र प्रसादस्वरूप खाने चलन पनि यस परम्परासँग जोडिएको हुन सक्छ। यद्यपि, खीर खाने दिनको सन्दर्भमा कुनै शास्त्रीय वचन स्पष्ट रूपमा नदेखिएको उहाँले बताउनुभयो।

पायसको धार्मिक र सामाजिक महत्व
ऋषिमुनिको पालादेखि नै पायस (खीर) श्राद्धलगायत पितृ कार्यमा निमन्त्रित अतिथिलाई खुवाइने चलन थियो। वैदिक सनातन परम्परामा आज पनि गाईको दूधबाट खीर बनाई श्राद्धमा प्रयोग गरिन्छ। चामल, मकै, सावधाना (साबुदाना), सेवई, गाजरजस्ता सामग्रीबाट विभिन्न प्रकारका खीर बनाउने गरिन्छ। सावधाना फलफूलकै वर्गमा पर्ने भएकाले व्रत र धार्मिक कार्यमा समेत यसको प्रयोग हुने गर्छ।

साउनमा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर खाने चलन पनि उत्तिकै लोकप्रिय छ। नेपाली बृहत् शब्दकोश अनुसार, “दूधमा पकाइएको भात, चामल, चिनी, मसला आदि हालेर पकाइएको स्वादिष्ट खाद्यपदार्थ” लाई खीर भनिन्छ।

लौकिक परम्परा र सामाजिक मेलमिलाप
नेपाली समाजमा वर्षभरि ऋतु अनुसारका खाद्य परम्परा जोगाइने चलन छ—जस्तै असार १५ मा दही च्यूरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ खट्टे, माघ १५ मा मालपुवा आदिमा आफन्त र छोरीचेलीलाई बोलाएर खुवाउने र सामाजिक समन्वय बढाउने संस्कृति विद्यमान छ।

यसै अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले पनि साउन १५ लाई ‘खीर खाने दिन’ अर्थात् ‘खीर दिवस’ को रूपमा मनाउने गरेको छ, जसको उद्देश्य दुग्धजन्य उत्पादनको प्रवर्द्धन र परम्परागत मूल्यको संरक्षण हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका