काठमाडौँ, १४ साउन — चालु वर्षको वैशाखदेखि हालसम्म देशभर विभिन्न प्रकारका विपद्का २,४५६ घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। तीमध्ये सबैभन्दा धेरै १,०११ वटा घटना आगलागीका रहेका छन्, जसमा १५ जनाले ज्यान गुमाएका छन् भने १४४ जना घाइते भएका छन्। आगलागीका कारण १,१२४ घरपरिवार प्रत्यक्ष प्रभावित भएका छन्।
उक्त अवधिमा २४३ वटा चट्याङसम्बन्धी घटना रेकर्ड भएका छन्। चट्याङ लागेर २८ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन्। चट्याङका कारण २८३ घरपरिवार प्रभावित भएका छन्।
सर्पदंशका ६६ घटनामा आठ जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएका छन्। यसले ७३ परिवारलाई असर पारेको छ। त्यस्तै, जनावरको आक्रमणबाट १३४ घटना भएका छन्, जसमा १२ जनाको ज्यान गएको र ६२ जना घाइते भएका छन्। जनावर आक्रमणले २०६ घरपरिवार प्रभावित भएको छ।
प्राकृतिक प्रकोपतर्फ हेर्दा, पहिरोका २४१ घटनामा १२ जनाको मृत्यु भएको छ। हावाहुरीका २७६ घटनामा आठ जनाले ज्यान गुमाएका छन्। यसै अवधिमा लेक लागेर पनि १२ जनाले ज्यान गुमाएका छन्।
प्राधिकरणका अनुसार, केवल मंगलबारको दिनमै बाढीका आठ, पहिरोका १६, आगलागीका पाँच र जनावर आक्रमणका तीन घटना भएको विवरण प्राप्त भएको छ।
सरकारले यस्ता विपद् न्यूनीकरणका लागि समन्वय, पूर्वतयारी र जनचेतनामूलक कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्ने विज्ञहरूको सुझाव छ।


