लन्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन्। अध्यक्ष पदका प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पछि पार्दै पुडासैनीले नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन्।
अध्यक्ष पदमा पुडासैनीले १,४८२ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी खरेलले ९७७ मत र खत्रीले ४९६ मत प्राप्त गरे।
खुला उपाध्यक्षमा उज्ज्वल कार्कीले १,८८४ र डा. रक्षा थापाले १,७२७ मत प्राप्त गर्दै विजयी भए। क्रमशः शम्भु अर्यालले १,१९६ र ज्ञानेन्द्र आलेले ९६१ मत प्राप्त गरी उपविजेता बने।
स्कटल्यान्ड क्षेत्रबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा रामप्रसाद कँडेल १,६०८ मतसहित विजयी भए भने शशी कार्की १,१७४ मतसहित उपविजेता बने।
महासचिव पदमा दिवाकर पाण्डे १,६६० मतसहित निर्वाचित भए। पुण्य रेग्मीले १,२०१ मत प्राप्त गर्दै उपविजेता बने।
खुला सचिवतर्फ डिएन खरालले १,८७९ र कृष्ण देवकोटाले २,३०९ मत प्राप्त गरी विजयी भए भने भूपाल कार्की १,३५६ मतसहित उपविजेता बने।
शनिबार सम्पन्न निर्वाचनमा कुल ३,०१२ मत खसेको थियो, जुन ३,५०१ दर्ता मतदातामध्ये ८६.०३ प्रतिशत सहभागिता हो।
अढाई दशकदेखि बेलायतमा बस्दै आएका पुडासैनी नुवाकोटको साबिक जिलिङ गाउँपालिका–२ (हाल बेलकोटगढी नगरपालिका–८) का स्थायी बासिन्दा हुन्। उनी डेढ दशकदेखि बेलायतको स्वास्थ्य सेवामा कार्यरत छन्।
सामाजिक क्षेत्रमै क्रियाशील पुडासैनी यती नेपाली एसोसिएसन युकेको महासचिव, प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्ष र विभिन्न संघसंस्थाको सल्लाहकार रहिसकेका छन्। उनी एनआरएनए अन्तर्राष्ट्रिय समिति (२०२१–२३) मा सदस्य समेत थिए।


