Sunday, November 8, 2026
Homeसामाचारपोखरा–जामुने सडकखण्डको ५५ प्रतिशत भौतिक प्रगति, दुई सिग्नेचर पुल निर्माणाधीन

पोखरा–जामुने सडकखण्डको ५५ प्रतिशत भौतिक प्रगति, दुई सिग्नेचर पुल निर्माणाधीन

गण्डकी । पोखरा–मुग्लिन सडकखण्डअन्तर्गत पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४२.५० प्रतिशत रहेको छ। कुल ३८.८८ किलोमिटर दूरीको यस खण्डमा हालसम्म ३७.७० किलोमिटर सडकमा एकतर्फी पहिलो तहको कालोपत्र सम्पन्न भएको पोखरा–मुग्लिन सडक आयोजनाले जनाएको छ।

आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार, २६.३८ किलोमिटर सडक दुईतर्फी (चार लेन) र १०.३२ किलोमिटर सडक एकतर्फी (दुई लेन) कालोपत्र गरिएको छ। विसं २०७८ भदौमा निर्माण थालिएको उक्त खण्डको ठेक्का म्याद आगामी पुस मसान्तसम्म रहेको छ। निर्माणमा ढिलाइ भएकाले ठेक्का म्याद दुई पटक थपिएको थियो।

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले सडक विस्तार तथा स्तरोन्नतिको काम गरिरहेको छ। तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको सडक खण्डमा आधा हिस्सा छ लेन र आधा चार लेनको बन्नेछ।

पश्चिम खण्डमा पर्ने १३ मध्ये ११ वटा पुलको निर्माण सकिएको छ भने २ पुल—विजयपुर र सेती—निर्माणाधीन अवस्थामा छन्। १०५ वटा कल्भर्टमध्ये १०३ वटा निर्माण भइसकेका छन्। तनहुँका म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो।

विजयपुर पुलको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ भने सेती पुलको प्रगति ४८ प्रतिशतमा सीमित रहेको छ। विजयपुर पुल निर्माणमा अझै पाँचदेखि छ महिनासम्म लाग्ने इन्जिनियर कुँवरले बताएका छन्।

२०७९ साउनमा रसुवा कन्स्ट्रक्सनले जिम्मा लिएको सेती पुलको निर्माण भने अपेक्षित ढंगमा अघि बढ्न सकेको छैन। डिजाइन स्वीकृति र सरसफाइसम्बन्धी ढिलाइका कारण निर्माण कार्य पछि धकेलिएको हो। केवल–स्टेड प्रविधिमा निर्माण हुँदै गरेको उक्त सिग्नेचर पुलको सब–स्ट्रक्चर सकिएको छ र हाल सुपर–स्ट्रक्चर निर्माण कार्य भइरहेको छ।

सेती खोलामा बन्ने यो आकर्षक डिजाइनको पुल पोखरा प्रवेशद्वारमा ‘सिग्नेचर स्ट्रक्चर’को रूपमा चिनिनेछ। हालको चाइना पुलको माथि–तल गरी दुईवटा आधुनिक पुल निर्माण हुनेछन्। रु ९४ करोडको ठेक्कामा निर्माणाधीन उक्त पुलमा कङ्क्रिट र फलामको प्रयोग गरिएको छ।

५० वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गत पर्ने पोखरा–मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नति हुँदैछ। आयोजना कार्यालयका अनुसार, निर्माणमा थप अवरोध नआए आगामी हिउँदसम्ममा पश्चिम खण्डको स्तरोन्नतिको काम सम्पन्न हुनेछ।

गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिने यो सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन)मा भने हालसम्म ८६ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका