Sunday, November 8, 2026
Homeसामाचारसुदूरपश्चिममा वर्षा अभावले धानबाली जोखिममा, उकुसमुकुस गर्मीले जनजीवन कष्टकर

सुदूरपश्चिममा वर्षा अभावले धानबाली जोखिममा, उकुसमुकुस गर्मीले जनजीवन कष्टकर

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायतका जिल्लामा मनसुन पूर्ण रूपमा सक्रिय नहुँदा खडेरीको समस्या गहिरिँदै गएको छ। यसले धानबालीमा प्रतिकूल असर पार्न थालेको छ भने अत्यधिक गर्मीका कारण जनजीवनसमेत कष्टकर बन्न थालेको छ।

कैलालीका किसानहरूमध्ये हरिलाल चौधरीले बोरिङ पम्पिङसेटमार्फत पानी तानेर असारको पहिलो सातामै धान रोपाइँ गरे पनि पछिल्ला दुई सातादेखिको खडेरीका कारण रोपिएको धान सुक्न थालेको चिन्ता व्यक्त गरे। “वर्षा नहुँदा खेतमा चिरा परेको छ,” उनले भने।

जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जय साहका अनुसार, यद्यपि यस वर्ष मनसुन औसत मितिभन्दा १५ दिनअघि नै भित्रिएको थियो, तर प्रणाली सक्रिय हुन सकेको छैन। “असार १६ मा धनगढीमा २१२.२ मिमि वर्षा भएको थियो, त्यसयता उल्लेखनीय वर्षा भएको छैन,” साहले जानकारी दिए।

उनले जलवायु परिवर्तनका असरहरू देखिन थालेको उल्लेख गर्दै मनसुनको अस्थिरता, बेमौसमी बाढी, डुबान, चक्रवात र आँधीबेरीजस्ता समस्या बढेको बताए।

कृषि प्राविधिकहरूका अनुसार, वर्षा नहुँदा बालीमा झारपात बढ्ने, रोग र किराको जोखिम उच्च हुने खतरा बढेको छ।

यसैबीच, पछिल्ला दुई हप्तादेखिको उकुसमुकुस गर्मीले स्थानीयको जनजीवन प्रभावित भएको छ। दैनिक कामकाज, हिँडडुल, सुत्नेसम्म कठिन भएपछि जनस्वास्थ्यमा पनि असर देखिन थालेको छ।

स्थानीय यज्ञराज भट्टले भने, “गर्मीले राति सुत्नै नसकिने भएको छ, पटक–पटक नुहाउनु परेको छ।” वृद्धवृद्धा, मजदुर र स्कुले बालबालिका गर्मीबाट बढी प्रभावित भएका छन्।

महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख साहका अनुसार अधिकतम तापक्रम उच्च नदेखिए पनि सापेक्षिक आर्द्रता र न्यूनतम तापक्रमको वृद्धि हुँदा शरीरले बढी गर्मी महसुस गरिरहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका