काठमाडौँ । विभिन्न कारणले इरानको जेलमा थुनामा परेका पाँच नेपाली नागरिक हालै स्वदेश फर्किएका छन्। उनीहरूलाई त्यहाँको अदालतले थुनामुक्त गरेपछि, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (IOM) को सहकार्यमा नेपाल फर्काइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
यसअघि पनि भारत सरकारसँग समन्वय गरी इरानमा अड्किएका नौ जना नेपाली नागरिकलाई भारतीय विमान सेवाको उडानमार्फत तीन चरणमा उद्धार गरि स्वदेश ल्याइएको थियो।
गत १३ जुन २०२५ देखि सुरु भएको इजरायल–इरान द्वन्द्व २३ जुनमा युद्धविराममा टुंगिएपछि शान्तिसुरक्षा सहज हुँदै गएको र यही परिस्थितिका कारण नेपाली नागरिकको उद्धार सम्भव भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सरकारले उद्धार प्रक्रियामा सहयोग, सक्रियता र सदाशयता देखाउने सबै निकायप्रति आभार व्यक्त गरेको छ।


