काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले युवापुस्तालाई समृद्ध राष्ट्र निर्माणको यात्रामा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन्। ‘उज्यालो नेपाल’ अभियानमार्फत सामाजिक, आर्थिक र व्यवस्थापन क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित उनले युवालाई नेतृत्व लिन प्रेरित गरेका हुन्।
राष्ट्रिय युवा संसद घोषणा कार्यक्रममा विशेष सम्बोधन
बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संसदको घोषणा सभा तथा शपथग्रहण कार्यक्रममा बोल्दै घिसिङले बहराइनबाट सुरु भएको ‘उज्यालो नेपाल’ अभियानलाई थप सशक्त बनाउँदै युवालाई राष्ट्र निर्माणको यात्रामा सहयात्री बन्न आग्रह गरे।
“देश बनाउनु छ भने अबको पुस्ताले नेतृत्व लिनैपर्छ,” घिसिङले भने, “अब नेपालमा केही हुँदैन भन्ने निराशावादी सोच तोड्नुपर्छ। परिवर्तन हामीबाटै सुरु हुनुपर्छ।”
उनले युवालाई ‘सुन, सिक र नेतृत्व गर’ (Listen, Learn and Lead) भन्ने मूल मन्त्र दिएका थिए।
राजनीतिक नेतृत्वको सीमितता र विकासको अभाव
कार्यक्रममा उनले वर्तमान राजनीतिक नेतृत्वबाट अपेक्षित विकास हासिल हुन नसकेको टिप्पणी गर्दै व्यवस्थापन र कार्यान्वयन क्षमताको अभावले समृद्धिको यात्रामा अवरोध भएको बताए।
“राजनीतिक परिवर्तन धेरै भए, तर विकास नेतृत्वको खाँचोले देशले गति लिन सकेन,” घिसिङले स्पष्ट पारे, “अब समृद्धिको स्पष्ट रोडम्याप र कार्यान्वयन क्षमताको आवश्यकता छ।”
‘विद्युतको उज्यालो मात्रै पुग्दैन’
पूर्व कार्यकारी निर्देशकका रूपमा आफ्नो कार्यकाल स्मरण गर्दै उनले भने, “लोडसेडिङ अन्त्य भयो, घाटामा रहेको प्राधिकरण नाफामा आयो, तर अझै धेरै क्षेत्रमा अँध्यारो छ। त्यो हटाएर मात्र समृद्ध नेपाल सम्भव हुन्छ।”
उनले ‘उज्यालो नेपाल’ अभियानलाई सामाजिक रूपान्तरणको अभियानको रूपमा परिभाषित गर्दै भने, “राजनीति मात्र होइन, जनचेतना र प्रणालीमै उज्यालो ल्याउनु हाम्रो उद्देश्य हो।”
विदेशिएका युवाको श्रम र सम्मानको खाँचो
विदेश भ्रमणको अनुभव सुनाउँदै उनले झन्डै १५ लाख नेपाली युवा विदेशमा श्रम गरिरहेको उल्लेख गरे। “जीडीपीको चौथाइ हिस्सा रेमिटेन्सबाट चलिरहेको भए पनि तिनको श्रमको पर्याप्त सम्मान छैन,” उनले गुनासो गरे।
उनले विदेशबाट फर्कन चाहने सिपयुक्त नेपालीका लागि अनुकूल वातावरण बनाउन नेतृत्व वर्ग जिम्मेवार हुनुपर्ने बताए।
‘पद होइन, सेवामा समर्पण’
“अब म कुनै राजनीतिक पदमा जान चाहन्न,” उनले स्पष्ट पारे, “बाँकी जीवन देशको सेवामा समर्पित गर्छु। ‘उज्यालो नेपाल’ अभियानमार्फत युवासँगै अघि बढ्ने छु।”
अन्तर्राष्ट्रिय सम्मान र भ्रमण
कुलमान घिसिङ आगामी साता अमेरिकाको न्यूयोर्कमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदैछन्। उनलाई र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई जुलाई २७ मा ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मान गरिने कार्यक्रम तय भएको छ।
त्यसपछि उनी टेक्सास, वासिङ्टन डीसी लगायतका स्थानमा जानेछन् भने अगस्ट महिनामा बेलायत र युरोपेली मुलुकहरूको भ्रमण पनि तय गरिएको छ।
कार्यक्रममा क्याप्टेन विजय लामा, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।


