भद्रपुर (झापा), ७ साउन — झापा जिल्लामा आर्थिक वर्ष २०८१/८२ (साउनदेखि असारसम्म) को अवधिमा एक हजार ७९ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्।
घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार, दर्ता भएका उद्योगमध्ये पाँच सय ८१ वटा उद्योग र चार सय ९८ वटा वाणिज्य फर्म रहेका छन्।
उक्त वर्षको अवधिमा उद्योगतर्फ एक हजार ६०९ र वाणिज्यतर्फ एक हजार ६६५ उद्योग नवीकरणसमेत गरिएको जानकारी दिइएको छ।
त्यसैगरी, तीन सय २४ उद्योग र दुई सय ३७ वाणिज्य फर्म गरी कुल पाँच सय ६१ उद्योग खारेज भएका छन्। यसबाहेक, ५८ उद्योगले ठाउँसारी गरेका छन् भने एक सय ५२ उद्योगले आफ्नो उद्देश्यमा थपसमेत गरेका छन्।
सूचना अधिकारी भट्टराईले जानकारी दिनुहुँदै भन्नुभयो, “कार्यालयमा आएर उद्योग बन्द गराउने संख्या कम भए पनि नवीकरण नगर्ने उद्योग धेरैले स्वतः बन्द भएका छन्। यद्यपि, बन्द हुनेभन्दा नयाँ उद्योग दर्ता हुने संख्या बढी रहेको सकारात्मक संकेत हो।”
उनका अनुसार, कार्यालयले सो आर्थिक वर्षमा विभिन्न शीर्षकमा कुल रु २ करोड ९१ लाख ५० हजार ९०० राजस्व सङ्कलन गरेको छ।


