काठमाडौँ — चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने मितेरी पुल असार २४ गते आएको बाढीले बगाएपछि रसुवागढी नाका पूर्ण रूपमा बन्द भएको छ। सो नाका हुँदै हुने आपूर्ति ठप्प भएको छ। अहिले चिनियाँ पक्ष अस्थायी बेलिब्रिज निर्माणमा जुटिरहेको छ भने नेपाल सरकार दसैँअघि नै यातायात सञ्चालनमा ल्याउने दाबी गरिरहेको छ।
नेपालस्थित चिनियाँ राजदूतावासले सामाजिक सञ्जालमार्फत बेलिब्रिज निर्माण कार्य अगाडि बढिरहेको जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि दसैँअघि नै यातायात पुनः सञ्चालन गर्ने गरी काम भइरहेको जानकारी दिएको छ। तर व्यवसायीहरू भने भौगोलिक जटिलता, बर्खाको मौसम र निर्माण चुनौतीका कारण समयमै काम सम्पन्न नहुन सक्ने आशंका व्यक्त गर्छन्।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठका अनुसार मितेरी पुल रहेको स्थान असहज भूगोलमा पर्छ र बेलिब्रिज जडान गर्न पूर्वतयारी आवश्यक पर्छ। त्यसमाथि बाढीको जोखिम कायमै रहेकोले दसैँअघि नै आपूर्ति पुनः सुरु हुने सम्भावना कम रहेको उनको भनाइ छ।
तातोपानी हुँदै आयात सुरू
रसुवागढी नाका बन्द भएपछि चीनको सीमा क्षेत्रमा रोकिएका कन्टेनरहरू तातोपानी नाकातर्फ डाइभर्ट गरिएको छ। तातोपानी हुँदै आयात सुरू गरिए पनि सडक संरचना कमजोर भएकोले माग अनुसार वस्तु ल्याउन सकिने अवस्था नरहेको व्यवसायीहरूको भनाइ छ।
श्रेष्ठका अनुसार चीनको सीमा क्षेत्रमा अड्किएका कन्टेनर तातोपानीतर्फ लैजान तीन दिन लाग्नेछ भने तातोपानीदेखि काठमाडौंसम्म थप १०–१२ घण्टा लाग्नेछ।
ठूलो मात्रामा क्षति
बाढीले रसुवागढी क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ। १७ वटा कन्टेनर बगाएको पुष्टि भइसकेको र ती कन्टेनरमा जुत्ताचप्पल, रेडिमेड लुगाफाटा, औद्योगिक कच्चापदार्थ लगायत सामग्री रहेका थिए। प्रारम्भिक अनुमान अनुसार १ अर्बभन्दा बढी मूल्य बराबरको क्षति भएको व्यवसायीहरूको दाबी छ। अहिलेसम्म बीमितहरूले २९ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरेका छन् भने ५५ करोड रुपैयाँ बराबरको थप दाबी पेश गर्ने तयारीमा छन्।
आयात–निर्यात तथ्यांक
भन्सार विभागका अनुसार २०८१/८२ मा रसुवागढी भन्सारबाट ८० अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जबकि तातोपानीबाट ४६ अर्ब ८९ करोडको आयात भएको छ। निर्याततर्फ रसुवाबाट १ अर्ब ९६ करोडको निर्यात भएको छ भने तातोपानीबाट निर्यात शून्य रहेको छ।
सरकारको दाबी
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले दसैँअघि नै बेलिब्रिज सञ्चालनमा ल्याइने दाबी गरेका छन्। चिनियाँ पक्ष सकारात्मक रहेको र काम तीव्र गतिमा अगाडि बढिरहेको उनले बताए।
यसैबीच, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच बिहीबार भएको भेटमा पनि दसैँअघि नै पुल सञ्चालनमा ल्याउने सहमति भएको थियो।
सडक आंशिक रूपमा खुलेको
बाढीले क्षतिग्रस्त पारेको स्याफ्रुवेँसी–रसुवागढी सडक खण्ड करिब १३ दिनपछि एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। करिब १,१०० मिटर सडकमा क्षति पुगेको थियो। मर्मत कार्य दोश्रो दिनदेखि सुरु गरिएको थियो र आइतबारदेखि सडक आंशिक रूपमा सञ्चालनमा आएको छ।
रसुवागढी नाका पुनः सञ्चालनका लागि प्रयास भइरहे पनि व्यवसायीहरूले चाडपर्व अगाडि समयमै आपूर्ति पुनः सुरु नहुन सक्ने देखेका छन्। सरकार सकारात्मक देखिए पनि भूगोल र मौसमको चुनौतीले आपूर्तिमा ढिलाइ हुनसक्ने सम्भावना कायमै छ।


