Sunday, November 8, 2026
Homeसामाचारदेशभर ७२ प्रतिशत रोपाइँ सम्पन्न, गत वर्षको तुलनामा १२ प्रतिशत कम

देशभर ७२ प्रतिशत रोपाइँ सम्पन्न, गत वर्षको तुलनामा १२ प्रतिशत कम

काठमाडौँ, ६ साउन — चालु वर्ष देशभर हालसम्म करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले कम हो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार हालसम्म देशभर करिब १० लाख हेक्टर क्षेत्रमा रोपाइँ सकिएको छ, भने कुल करिब १४ लाख हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ।

मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी, करिब ९७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत, बागमती प्रदेशमा ८७ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ। सुदूरपश्चिममा १ लाख ७१ हजार हेक्टर र बागमतीमा १ लाख ५ हजार हेक्टर क्षेत्रमा रोपाइँ भएको जानकारी दिइएको छ।

मौसम प्रतिकूल नबनेमा साउनको अन्त्यसम्म ९८ प्रतिशत रोपाइँ पुग्ने मन्त्रालयको अनुमान छ। तर, यस वर्ष मनसुन ढिलो सुरू हुनु, असमयको वर्षा र केही क्षेत्रमा अनावृष्टिका कारण रोपाइँ ढिलो भएको छ।

धान उत्पादन र योगदान
आर्थिक वर्ष २०८०/८१ मा कुल ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो। यो वर्ष मौसम अनुकूल रहेमा उत्पादन बढ्ने मन्त्रालयको अपेक्षा छ। मन्त्रालयका अनुसार, धान उत्पादनमा १० प्रतिशत वृद्धि वा गिरावट भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतसम्म असर पर्न सक्छ।

तराई क्षेत्र धान उत्पादनका लागि प्रमुख क्षेत्र मानिन्छ, जहाँबाट कुल उत्पादनको ७० प्रतिशत योगदान हुन्छ, जबकि पहाडी क्षेत्रको योगदान ३० प्रतिशत रहेको छ।

यस वर्ष स्वदेशमा करिब ६० लाख मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको छ, जसबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल उत्पादन हुने मन्त्रालयले जनाएको छ। पछिल्ला वर्षहरूमा उन्नत बीउ, प्रविधि र कृषि ज्ञानको विकासले उत्पादनमा सुधार हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका