काठमाडाैं। अध्यागमन सुधारका लागि गृह मन्त्रालयले लोकसेवा आयोगबाट हालै पास भएका ४५ जना शाखा अधिकृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, सोमबारदेखि सहसचिव नरहरि घिमिरेको नेतृत्वमा नयाँ अधिकृतहरूले विमानस्थलमा जिम्मेवारी सम्हालेका छन्। “तीन दिने तालिमपछि आजदेखि उनीहरूलाई अध्यागमनमा खटाइएको हो,” रिजालले जानकारी दिए।
नयाँ प्रमुख सहसचिव नरहरि घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताको भूमिकामा काम गरिसकेका छन्।
केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो। गृह मन्त्रालयले ती सबैलाई अध्यागमनमा खटाई मन्त्रालयको दरबन्दी मिलानको प्रक्रिया अघि बढाएको जनाएको छ। “यदि दरबन्दीभन्दा बढी अधिकृत भए, उनीहरूलाई सामान्य प्रशासन मन्त्रालयमार्फत अन्यत्र पठाइनेछ,” उपसचिव सुरेश जोशीले बताए।
यसैबीच, सरकारले पूर्वमुख्य सचिव शंकरदास बैरागीको संयोजकत्वमा अध्यागमन र भिजिट भिसासम्बन्धी समस्या समाधान गर्न उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ। समितिलाई नीतिगत, कानुनी तथा संरचनागत सुधारका लागि तत्काल र दीर्घकालीन कार्ययोजना पेस गर्न भनिएको छ। हाल समिति सोही अनुसार काम गरिरहेको छ।


