काठमाडौं — हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान गरिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर सरेकाले देशका अधिकांश भागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा अन्य भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागमा समेत हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज रातिसमेत देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने विभागले जानकारी दिएको छ।
विभागले सम्भावित भारी वर्षाका कारण पहिरो, बाढी र सडक अवरोधजस्ता जोखिमका लागि सतर्कता अपनाउन नागरिकहरूलाई आग्रह गरेको छ।


