भेरीगङ्गा (सुर्खेत)— सुर्खेतमा गत आर्थिक वर्ष २०८१/८२ मा डेङ्गीका कारण चार जनाको मृत्यु भएको छ। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार सो अवधिमा एक हजार ८३७ जनामा डेङ्गी संक्रमण पुष्टि भएको हो।
जनस्वास्थ्य सेवा कार्यालयका डेङ्गी रोग निवारण सम्पर्क व्यक्ति उदय बिसीका अनुसार सुर्खेतमा वर्षैपिच्छे संक्रमणको जोखिम बढ्दो छ। आर्थिक वर्ष २०७७/७८ मा ६३९ जना संक्रमित भेटिएका थिए भने २०७८/७९ मा यो संख्या एक हजार ३२२ पुगेको थियो। त्यसपछिको वर्ष २०७९/८० मा एक हजार ४८४ जना संक्रमित भए। यद्यपि आव २०८०/८१ मा संक्रमण केही घट्दै ५७१ मा सीमित भएको थियो।
तीन नगरपालिका उच्च जोखिममा
वीरेन्द्रनगर, पञ्चपुरी र गुर्भाकोट नगरपालिका डेङ्गीको उच्च जोखिममा परेका छन्। जोखिम बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालयले ती क्षेत्रमा सचेतना अभियानलाई तीव्र बनाएको छ।
विशेषगरी साउनदेखि कात्तिकसम्मको अवधि संक्रमणको संवेदनशील समय भएकाले ‘सचेतना महिना’का रूपमा विविध कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ। “प्रत्येक शुक्रबार ‘सरसफाइ शुक्रबार’ अभियान सञ्चालन हुनेछ, जसअन्तर्गत कार्यालय, विद्यालय र समुदायमा सरसफाइ तथा लामखुट्टेका बासस्थान नष्ट गरिनेछ,” बिसीले बताए।
सामुदायिक सहभागिता र सहकार्यको जोड
स्थानीय समुदायका अगुवाहरूले यो अभियानमा सबैको सहभागिता आवश्यक भएको बताएका छन्। सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काले सहरका व्यापारिक क्षेत्रहरूको सरसफाइमा ध्यान नदिएसम्म संक्रमण न्यूनीकरण असम्भव हुने भन्दै निजी क्षेत्रले सक्रिय सहभागिता जनाउने प्रतिवद्धता जनाए।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष सुशील खड्काले सञ्चारकर्मीहरूले जनचेतना अभिवृद्धिमा टेवा दिने बताएका छन्। उहाँले सचेतनाको अभावले महामारीको रूप लिन सक्ने सम्भावनातर्फ पनि सतर्क रहन आग्रह गरे।
जनस्वास्थ्य सेवा कार्यालयकी प्रमुख करुणा भण्डारीले स्थानीय तहसँगको सहकार्यमा अभियानलाई प्रभावकारी बनाइने बताइन्। “टोल विकास समिति, नागरिक समाज र विद्यालयहरूसँग समन्वय गरेर सचेतनामूलक कार्यक्रम विस्तार गरिनेछ,” उनले भनिन्।


