Sunday, November 8, 2026
Homeसामाचार"सुदूरपश्चिममा लगानीमैत्री वातावरणका लागि साझा प्रयास आवश्यक: मुख्यमन्त्री शाह"

“सुदूरपश्चिममा लगानीमैत्री वातावरणका लागि साझा प्रयास आवश्यक: मुख्यमन्त्री शाह”

धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लगानी तथा विकास सम्मेलन २०८२ लाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक भएको बताएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीमा ‘सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन २०८२’ का सन्दर्भमा नीति तथा कानुन अध्ययन तथा सिफारिस उपसमितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले प्रदेशमा लगानीमैत्री वातावरण निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

“लगानीकर्तामा विश्वासको वातावरण सिर्जना गर्न प्रदेश सरकार गम्भीर छ,” मुख्यमन्त्री शाहले भन्नुभयो, “यसका लागि सम्बद्ध सबै निकायको सक्रियता अपरिहार्य छ।” आगामी असोज १ र २ गते सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिँदै उहाँले अत्यावश्यक बाहेक अन्य बिदामा नबस्न कर्मचारीलाई निर्देशनसमेत दिनुभयो।

उहाँले प्रमुख सचिव डा. कमलप्रसाद पोख्रेललाई मातहतका कार्यालयमा परिपत्र गर्न र प्रदेश कानुन सचिव डा. वीरेन्द्रकुमार मिश्रलाई कानुनी जटिलता पहिचानका लागि एक साताभित्र आवश्यक समन्वय गर्न निर्देशन दिनुभयो।

मुख्यमन्त्री शाहले सम्मेलन सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक र पूर्वाधार विकासमा एक महत्वपूर्ण कोसेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो।

यसैबीच, मुख्यमन्त्री शाहसहितको टोलीले आज कोशी प्रदेश सरकारका प्रतिनिधिसँग ‘भर्चुअल’ अन्तरक्रिया गरेको छ। कोशी प्रदेशले वैशाख १८–१९ गते सम्पन्न गरेको ‘कोशी प्रदेश लगानी सम्मेलन २०८२’ को अनुभव आदानप्रदान तथा नीति–कानुनसम्बन्धी छलफल भएको थियो।

छलफलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू, सचिवहरू, तयारी सम्मेलनका समिति र उपसमितिका पदाधिकारी, तथा कोशी प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. मोहन सुवेदी, कानुन सचिव राजु गुरागाईं, र कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालालगायतको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका