कञ्चनपुर — छाउगोठमा सर्पदंशका कारण मृत्यु भएकी कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाईंका परिवारलाई नेपाली कांग्रेस प्रदेशसभा कार्यसमिति क्षेत्र नं २ (क) कञ्चनपुरले आर्थिक सहयोग प्रदान गरेको छ।
प्रदेशसभा कार्यसमिति क्षेत्र नं २ (क) का सभापति झङ्करबहादुर खडका (पुरन) को नेतृत्वमा गएको टोलीले मृतकका परिवारलाई रु २१ हजार पाँच रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो। मानवीय भावना प्रेरित भएर कार्यसमितिका पदाधिकारीहरूले स्वस्फूर्त रूपमा रकम संकलन गरेका थिए, जुन मृतकका श्रीमान् पुरन दमाईं र छोराहरू आयुष, आशिष, र आदित्यलाई संयुक्त रूपमा प्रदान गरिएको सभापति खड्काले जानकारी दिनुभयो।
उहाँले छाउपडी जस्तो रुढीवादी प्रथाका कारण निर्दोषले ज्यान गुमाउनु दुःखद् मात्र नभई सभ्य समाजका लागि असह्य विषय भएको टिप्पणी गर्नुभयो। “छाउगोठ विस्थापन र छाउपडीजस्तो ‘कु’ प्रथाको अन्त्यका लागि सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ,” उहाँले भन्नुभयो, “मृतक परिवारप्रति हामी गहिरो समवेदना प्रकट गर्दछौँ।”
प्रदेशसभा कार्यसमितिका सदस्य उत्तमराज भट्टले छाउगोठ भत्काउनु मात्र पर्याप्त नभई समाजमा गहिरो गरी जरो गाडेको रुढीवादी मानसिकता परिवर्तन गर्न व्यापक जनचेतना आवश्यक रहेको धारणा राख्नुभयो।


