काठमाडौं – पशुपति क्षेत्रको ऐतिहासिकता जोगाउन र साउन महिनाका परम्परागत जात्रा–पर्वहरू निर्वाध रूपमा सञ्चालन गर्न वातावरण सुनिश्चित गरिदिन माग गर्दै काठमाडौं महानगरपालिका वडा नं. ८ का स्थानीयवासीहरूले वडाध्यक्ष तथा महानगर सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगतलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
पशुपति सिर्जनशील युवा क्लबका अध्यक्ष सुमन डंगोलको नेतृत्वमा बुद्धिजीवी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको टोलीले आइतबार उक्त पत्र बुझाएको हो। उनीहरूले पशुपति क्षेत्र विकास कोषले मनपरी ढंगले संघसंस्थाहरूलाई भाडामा स्थान दिएर क्षेत्रको सौन्दर्य र ऐतिहासिक जात्रामा अवरोध पुर्याएको आरोप लगाएका छन्।
स्थानीयहरूका अनुसार गुँला पर्व, गाईजात्रा, खड्ग जात्रा र रोपाइँ जात्राजस्ता पर्वहरू साउन महिनामै पर्छन्। यस्तो बेला कोषले बिना समन्वय कार्यक्रम गर्न भाडामा स्थान उपलब्ध गराउँदा सांस्कृतिक कार्यक्रममा असहजता उत्पन्न भएको छ।
वडाध्यक्ष संगतले स्थानीयको गुनासोप्रति संवेदनशीलता देखाउँदै भने, “ऐतिहासिक जात्रा–पर्वहरूमा कसैले अवरोध पुर्याए, त्यो सह्य हुनेछैन।” उनले थपे, “व्यक्तिगत स्वार्थका लागि आधिकारिक संस्थाले भाडामा स्थान दिनु उपयुक्त होइन, कोषको मनोमानी तत्काल रोकिनुपर्छ।”
यसै क्रममा स्थानीयहरूले पशुपति क्षेत्र विकास कोषलाई समेत छुट्टै ध्यानाकर्षण पत्र बुझाउँदै यस्ता अनधिकृत र अव्यवस्थित गतिविधिहरू तत्काल रोक्न माग गरेका छन्। उनीहरूले यदि निर्माणाधीन पण्डाल र अन्य कार्यक्रमहरू तत्काल रोकिनेनन् भने आफूहरू प्रतिवादमा उत्रिने चेतावनी दिएका छन्।
पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य–सचिव सुभाष चन्द्र जोशीले वर्तमान अवस्थाबारे जानकारी दिँदै भने, “पशुपति क्षेत्रको कोर परिसर भाडामा लगाउनु हुँदैन भन्ने मेरो स्पष्ट धारणा हो।” उनले केही संघसंस्थालाई स्थान उपलब्ध गराएको स्वीकार गर्दै भविष्यमा यस्तो कार्य नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीयहरूले साउन महिनामा लाग्ने श्रद्धालुहरूको भीड र जात्राहरूको संवेदनशीलतालाई ध्यानमा राख्दै पशुपति क्षेत्रको व्यवस्थापनमा कोषले गम्भीरता देखाउनुपर्ने बताएका छन्।


