झापा:प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरेका छन्।
भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पालिकाका २०० जनालाई पुर्जा हस्तान्तरण गरे।
प्रधानमन्त्रीले भूमिहीन, दलित तथा सुकुमबासीहरूले जग्गाको कानुनी स्वामित्व पाउनु सुखद कुरा भएको उल्लेख गर्दै वर्तमान सरकारले राजनीतिक स्थायित्व कायम गर्दै जनताका जीवनसँग प्रत्यक्ष जोडिएका समस्याको समाधानमा प्राथमिकता दिएको बताए।
उनले भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै भूमि सम्बन्धी विधेयक संसद्बाट पारित गरिने जानकारी दिए। साथै, उनले उपलब्ध जमिनको अधिकतम उपयोग गर्दै विशेषगरी व्यावसायिक खेतीमार्फत आर्थिक समृद्धिको मार्गमा अघि बढ्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मुलुक विकासको मार्गमा अगाडि बढिरहेको उल्लेख गर्दै उनले सम्पूर्ण नेपाली जनतालाई निराश नहुन आग्रह गरे। गणतान्त्रिक शासन प्रणाली अवलम्बन गरेपछि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरूमा उल्लेख्य प्रगति भएको पनि उनले बताए।
फरक प्रसंगमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेससँग भएको सहमति अनुसार आगामी वर्ष सत्ता हस्तान्तरण कांग्रेस सभापति तथा लोकतान्त्रिक आन्दोलनका सहयात्री शेरबहादुर देउवालाई गरिने बताए।
“आगामी निर्वाचनसम्म नेपाली कांग्रेससँगको सहकार्य यथावत् रहनेछ,” प्रधानमन्त्री ओलीले भने, “म सबै साथीहरूलाई ढुक्क भएर अघि बढ्न आग्रह गर्छु।”
कार्यक्रममा भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले पूर्वदेखि पश्चिम महाकालीसम्मका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई चरणबद्ध रूपमा जग्गाधनी पुर्जा वितरण गरिने जानकारी दिए।


