कञ्चनपुर, २८ असार — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ लठ्ठागौरीस्थित वनहरा नदी किनारका बासिन्दाहरू वर्षेनी बाढीको त्रासमा बाँचिरहेका छन्। वर्षा सुरु हुने बित्तिकै उनीहरू नजिकैको वन क्षेत्रमा त्रिपाल टाँगेर बस्न बाध्य छन्।
टेकबहादुर सलामी थापा मगर विगत सात वर्षदेखि वर्षा सुरु भएलगत्तै सामुदायिक वनमा त्रिपाल टाँगेर परिवारसहित बस्दै आउनुभएको छ। बाढीले घर डुबाउने भएकाले उहाँ समयमै खाद्यान्न, ओढ्ने–ओछ्याउने सामान, बालबालिका र चौपाया लिएर सुरक्षित स्थानतर्फ जानुहुन्छ।
पहिले डोटीको जोरायलमा पहिरोले घर बगाएपछि उहाँ कञ्चनपुर आइपुग्नुभएको हो। “पहिरोले घर लग्यो, घरवारविहीन भयौँ,” उहाँले सम्झनुभयो, “जहाँ मजदुरी पाइन्थ्यो, त्यहीँ बस्यौँ। त्यसै क्रममा यहाँ आइपुग्यौँ र बस्न थाल्यौँ।”
उहाँले नदी किनारमै थोरै जमिन किनेर घर बनाए पनि बाढीको समस्या टरिसकेको छैन। “यहाँ पनि नदीले वर्षेनी सताउँछ, त्यसैले वर्षा लाग्नासाथ वन क्षेत्रमा सर्नु परिहाल्छ,” उहाँले भन्नुभयो।
टेकबहादुर र उहाँकी श्रीमती मजदुरीमै निर्भर छन्। दैनिक आम्दानीबाट जेनतेन गुजारा चलिरहेको छ।
टेकबहादुर मात्र होइन, त्यही बस्तीका थप छ परिवार पनि वर्षात् सुरु हुनुअघि नै वनमा सरेर अस्थायी त्रिपालमा बस्न बाध्य छन्।
डडेल्धुराको आलितालबाट विस्थापित भएर आएकी सितादेवी बोहरा पनि यस्तै अवस्थामा छन्। पहाडको घर पहिरोले बगाएपछि उनीहरूको परिवार वनहरा नदी किनारमै बस्दै आएको छ।
“यहाँ आएपछि पनि बाढीको सास्ती टरिएन,” उहाँले भन्नुभयो, “तीन वर्षअघि बाढीले घरभित्रको खाद्यान्नदेखि बाख्रा, गोरु सबै बगाएर लग्यो।”
अहिले पनि आकाशमा कालो बादल देखिएसँगै बस्तीमा त्रास फैलिन्छ। “बाढीको डरले घर छाडेर वनतिर जानुपर्छ,” उहाँले सुनाउनुभयो।
स्थानीय राजुराम लुहार पनि वर्षा सुरु हुनुअघि नै घर छाड्ने तयारीमा छन्। “चुरे क्षेत्रमा पानी पर्यो भने बाढी घरसम्मै आउँछ, जोखिम लिन सकिँदैन,” उहाँले बताए।
बाढी नआएको बेला उनीहरू घर फर्केर दैनिक कामकाज गर्छन् — बोटविरुवा स्याहार्ने, घर लिपपोत गर्ने तर रात भने वनमै बिताउँछन्।
विगत वर्ष वडा कार्यालयले त्रिपाल वितरण गरेको थियो। ती त्रिपाल च्यातिएपछि यस वर्ष वडाले सात परिवारका लागि फलामको पाइप र बलियो प्लास्टिकको छानो भएको अस्थायी आवास बनाइदिएको वडाध्यक्ष नवलसिंह रानाले जानकारी दिनुभयो।
“ती परिवार असुरक्षित रूपमा वनमा बसिरहेका थिए,” वडाध्यक्ष रानाले भन्नुभयो, “अब भने केही हदसम्म सुरक्षित र व्यवस्थित रूपमा बस्न सक्ने वातावरण बनेको छ। जति वर्षा भए पनि अब ढुक्कसँग बस्न सक्छन्।”


