काठमाडौं। रसुवाको माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोट भएपछि आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार, यसअघि ९ जनाको मृत्यु पुष्टि भएको थियो भने थप दुई शव त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा फेला परेसँगै मृत्यु सङ्ख्या ११ पुगेको हो।
हालसम्म ८६२ जनाको उद्धार गरिएको छ। तीमध्ये केही बाढीमा फसेका थिए भने केही सडक अबरुद्ध भएर बीचमै रोकिएका थिए। उनीहरूलाई सुरक्षित गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।
प्राप्त जानकारीअनुसार, मृतकमध्ये हालसम्म एक जनाको मात्र पहिचान भएको छ। अन्य शवहरूको सनाखत हुन सकेको छैन। केही शव चिन्नै नसकिने अवस्थामा फेला परेका छन् भने कतिपय ठाउँमा केवल मानव अङ्ग मात्र भेटिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार, हालसम्म १९ जना अझै बेपत्ता छन्। बाढीमा हराएका व्यक्तिहरूमध्ये एक जना प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठको शव पहिचानपछि अन्त्येष्टि गरिएको छ। बाँकी शवहरूलाई काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ।
बेपत्ताहरूको खोजी कार्य निरन्तर चलिरहेको छ। उद्धार र खोजतलासका लागि एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्राकृतिक विपत्तिले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको छ। त्यसैगरी, २४ वटा कन्टेनर, ६ वटा ट्रक र ४२ वटा विद्युतीय सवारी (इभी) पनि बगाएका छन्। धुन्चे–टिमुरे सडकखण्डमा गम्भीर क्षति पुगेको छ। रसुवागढी जलविद्युत आयोजना (हाइड्रो)को बाँध (ड्याम) र भन्सार कार्यालयको यार्डमा समेत क्षति पुगेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, बाढीको मूल कारण माथिल्लो क्षेत्रको हिमताल विस्फोट रहेको प्रारम्भिक निष्कर्ष निकालिएको छ।


