काठमाडौँ — नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन–२०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारहरूलाई असहयोग गर्ने २६ जना नेता तथा कार्यकर्तालाई सचेत गराएको छ।
पार्टीको केन्द्रीय अनुशासन समितिको असार ९ देखि १७ गतेसम्म बसेको बैठकले प्राप्त उजुरीहरूको आधारमा उनीहरूलाई अब उप्रान्त पार्टी हितविरुद्ध नचल्न चेतावनी दिएको हो।
समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाका अनुसार, उक्त २६ जनामध्ये कैलालीबाट २, डोल्पाबाट १०, सल्यानबाट ११, दैलेख, खोटाङ र धनुषाबाट एक–एक जना छन्। उहाँले अझै केही उजुरीहरू छानबिन प्रक्रियामा रहेको जानकारी पनि दिनुभएको छ।
यसअघि, पार्टीले २०७९ को निर्वाचनमा उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, वा त्यस्ता उम्मेदवारको प्रस्तावक/समर्थक हुने व्यक्तिलाई पार्टीको विधानअनुसार स्वतः निष्कासन गरेको थियो।
पुनरावेदनस्वरूप प्राप्त निवेदनहरूलाई लिएर पार्टीको अनुशासन समितिले असार २२ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा निर्णयका लागि प्रस्ताव पेस गरिसकेको छ।
पार्टी कार्यालयका अनुसार, अहिलेसम्म कोशी प्रदेशबाट १७, मधेस प्रदेशबाट २३, बागमतीबाट ४, गण्डकीबाट ३, लुम्बिनीबाट ३६, कर्णालीबाट ४, र सुदूरपश्चिमबाट १ गरी जम्मा ८८ जनाको पुनरावेदन निवेदन प्राप्त भएको छ। यी निवेदनहरू सम्बन्धित प्रक्रियाअनुसार कारबाही अघि बढाइने जनाएको छ।


