काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको अवसरमा शुभकामना दिँदै गुरुको महत्त्व र विवेकको भूमिकामाथि प्रकाश पारेका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले गुरु अन्धकारबाट प्रकाशमा पु-याउने, आत्मचिन्तन र आत्मप्रकाशको मार्ग देखाउने पूजनीय पात्र भएको उल्लेख गरेका छन्।
उनले भने, “आज गुरु पूर्णिमा। यस दिनलाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइन्छ। हाम्रो प्राचीन पूर्वीय सभ्यताले आफ्नो अन्तरतम अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई ‘गुरु’ भन्छ र संसारको बारेमा सिकाउनेलाई ‘शिक्षक’ भन्छ। गुरु अन्धकारबाट प्रकाशमा पु-याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्।”
प्रधानमन्त्री ओलीले समाजलाई आजको दिनमा आवश्यक पर्ने कुरा बाहिरीभन्दा पनि भित्री प्रश्नको उत्तर खोज्ने ‘दीप’ रहेको बताए। “हामीलाई अरूमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने दीप चाहिएको हो,” उनले भने, “र त्यो दीप भनेको विवेक हो।”
उनको सन्देशमा गुरु र विवेकको सम्बन्ध, आत्मचिन्तन, तथा आन्तरिक प्रकाशतर्फ उन्मुख जीवनदृष्टिको महत्वलाई जोड दिइएको छ।


