काठमाडौं । तिब्बतमा परेको अबिरल वर्षाका कारण रसुवागढीमा बाढी आउँदा सात जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीले हालसम्म ५५ जनाको उद्धार गरिएको र सात जनाको शव फेला परेको जनाएको छ। १८ जना अझै बेपत्ता छन्।
मंगलबार बिहान करिब ३ बजे तिब्बतमा परेको भारी वर्षाले बाढी ल्याएको हो। उक्त बाढी दिउँसो साढे ११ बजेतिर रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा प्रवेश गरेको थियो।
नेपाल प्रहरीका अनुसार हालसम्म ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ९ जना सर्वसाधारण गरी १८ जना बेपत्ता छन्।
बाढीले गोसाइकुण्ड गाउँपालिका–१, २, ३, आमाछोदिङमो गाउँपालिका–१, २, ४, ५, उत्तरगया गाउँपालिका–२, ४, ५ र कालिका गाउँपालिका–१ नम्बर वडाहरू प्रभावित भएका छन्।
बाढीका कारण नेपाल–चीन नाका जोड्ने मितेरी पुल बगेको छ। त्यस्तै, चार्जिङ स्टेसनमा क्षति पुगेको, ७/८ वटा विद्युतीय सवारीसाधन बगेको, रसुवाको भन्सार यार्ड र रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुगेको छ।
गोसाइकुण्ड गाउँपालिका–५ अन्तर्गत पर्ने पासाङल्हामु सडकखण्डमा बाढीले सडक चर्काएको छ। जसका कारण धुन्चेदेखि टिमुरेसम्मको सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको प्रहरीको भनाइ छ।


