पोखरा: चलचित्र पत्रकार संघ नेपाल कास्कीको २२औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यहरूसँगै सम्पन्न भयो।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले कार्यसमितिमा देखिएको समस्याको समाधान गर्न आफूले जिम्मा लिएको उल्लेख गर्दै, केन्द्रबाट अधिवेशनका लागि परिपत्र प्राप्त भएपछि छैटौं अधिवेशन गरिने जानकारी दिए। उनले २०६० साल असार २२ गते संघ स्थापना भएको स्मरण गर्दै संघले थुप्रै चुनौती पार गर्दै आजको अवस्था हासिल गरेको बताए।
संघका सल्लाहकार सुरेश रानाभाटले संघलाई मजबुत बनाउने आधारका रूपमा विधान र कार्यविधिलाई ‘अक्सिजन’ को संज्ञा दिँदै कास्की शाखालाई देशभरकै उत्कृष्ट शाखा भन्ने अभिव्यक्ति दिए।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले चलचित्र पत्रकारिताको संरक्षण र प्रवर्द्धनका लागि चलचित्रसम्बन्धी गतिविधि बढाउन आवश्यक रहेको बताए। मिडियाले नै कलाकारलाई उजागर गर्ने मुख्य माध्यमको भूमिका निर्वाह गरिरहेको उनले उल्लेख गरे।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बरालले संघ अहिले युवा अवस्थामा रहेको बताउँदै यसको गतिशीलता कायम राख्नुपर्नेमा जोड दिए। उनले नेतृत्वविहीनताको असर स्वाभाविक भए पनि समाधानका उपायसहित अघि बढ्न सुझाव दिए।
कार्यक्रममा कलाकार प्रकाश घिमिरेले पत्रकारहरूले राम्रो चलचित्रलाई खुलेर समर्थन गर्नुपर्ने र पैसा कमाउने फिल्म मात्रलाई राम्रो ठान्ने प्रवृत्तिबाट बाहिरिनुपर्ने धारणा राखे। उत्कृष्ट अभिनय हुँदा पनि चलचित्र असफल हुने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले चलचित्र संवाद कार्यक्रमको प्रशंसा गरे।
कलाकार माओत्से गुरुङले चलचित्र पत्रकारितालाई परिस्कृत बनाउँदै अघि बढाउन र चलचित्र ऐनमा भएका त्रुटिहरू सच्याउन मिडियाको भूमिका अत्यावश्यक रहेको बताए।
संघका पूर्व उपाध्यक्ष तथा पूर्व सल्लाहकार राजाराम पौडेलले नेतृत्वले आफ्नो कार्यकाल पूरा गर्नुपर्नेमा जोड दिँदै चलचित्र संवाद कार्यक्रमलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए। उनले पत्रकारहरूलाई चलचित्र मात्र नभई सम्पूर्ण मनोरञ्जन क्षेत्रमा कलम चलाउन प्रोत्साहित गर्नुपर्ने धारणा राखे।
संघका पूर्व सह–सचिव तथा पत्रकार विजय नेपालले चलचित्र पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि फेलोसिप, तालिम र गोष्ठी जस्ता कार्यक्रम सञ्चालन गर्न सुझाव दिए।
संघका वर्तमान सचिव सन्तोष बस्यालले संस्थाको वर्तमान अवस्था र गतिविधिबारे जानकारी गराए।
संस्थापक अध्यक्ष सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सबै वक्ताहरूले संघको भूमिका, भविष्य र सुदृढीकरणका विविध आयाममा विचार व्यक्त गरे। चलचित्र पत्रकार संघ नेपालले ७ जेठ २०५६ मा भरत शाक्यको अध्यक्षतामा केन्द्रमा स्थापना गरी २२ असार २०६० मा पहिलोपटक पोखरामा कास्की शाखा विस्तार गरेको थियो।


