Sunday, November 8, 2026
Homeसामाचारशुक्लाफाँटा नगरपालिकामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सेन्सरयुक्त सौर्यबत्ती जडान

शुक्लाफाँटा नगरपालिकामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सेन्सरयुक्त सौर्यबत्ती जडान

कञ्चनपुर, २३ असार: शुक्लाफाँटा नगरपालिकामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र बस्ती सुरक्षाको उद्देश्यले सेन्सरयुक्त सौर्यबत्ती जडान गरिएको छ। हिमालयन नेचरलगायतका संस्थाहरूको सहकार्यमा सञ्चालित ‘कनेक्ट परियोजना’ अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीहरूमा यो प्रविधि स्थापना गरिएको हो।

हिमालयन नेचरका कार्यक्रम संयोजक श्रीराम घिमिरेका अनुसार, जङ्गली जनावरहरू रातको समयमा बस्तीमा प्रवेश गर्ने मुख्य स्थानहरूमा उज्यालोको व्यवस्था गर्न सौर्यबत्ती जडान गरिएको हो। “यी बत्तीहरू साँझ पर्नासाथ स्वचालित रूपमा बल्ने र बिहान उज्यालो भएपछि आफैँ निभ्ने सेन्सरयुक्त प्रविधिमा आधारित छन्,” उनले जानकारी दिए।

निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत गठित सुनदेवी र त्रिशक्ति उपभोक्ता समितिको सहकार्यमा वडा नं. १ देखि ७ सम्मका १० स्थानमा सौर्यबत्ती जडान गरिएको छ। परियोजनाअन्तर्गत यो कार्यका लागि करिब १० लाख रुपैयाँ खर्च गरिएको छ।

सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर बिष्टका अनुसार, हात्ती, चित्तल, नीलगाईजस्ता जनावरहरू रातको समयमा बस्तीमा पसेर अन्नबाली र तरकारीबालीमा क्षति पुर्‍याउने गरेका छन्। “उज्यालो भएपछि जनावरहरू तर्केर जंगलतिर फर्कन्छन्, त्यसैले बत्तीले सुरक्षामा ठुलो सहयोग पुर्‍याएको छ,” उनले बताए।

उनका अनुसार, विशेषगरी वर्षा सुरु हुनुअघि भारतीय दुधुवा नेसनल पार्कबाट चुरे क्षेत्रमा प्रवेश गर्ने हात्तीका बथानले बर्सेनि मानवीय र भौतिक क्षति पुर्‍याउने गरेका छन्।

त्रिशक्ति उपभोक्ता समितिका अध्यक्ष दमनबहादुर चन्दले पनि निकुञ्जबाट आउने जनावरका कारण नगरपालिकाका १० भन्दा बढी वडाहरू प्रभावित हुने जानकारी दिए। “यस वर्ष केही स्थानमा मात्र सौर्यबत्ती जडान गरिएको छ, तर अर्को वर्ष अन्य प्रभावित क्षेत्रहरूमा पनि विस्तार गर्ने योजना छ,” उनले भने।

स्थानीय तह, उपभोक्ता समितिहरू र सरोकारवाला संस्थाहरूको समन्वयमा गरिएको यो प्रयासले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका