तानसेन (पाल्पा), १९ असार: राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइएको सिद्धबाबा सुरुङमार्गको इन्भर्ट निर्माण कार्य सम्पन्न भएको छ। सुरुङमार्ग आयोजनाका अनुसार कुल १,०८९ मिटर लामो मुख्य टनेलमा इन्भर्ट निर्माण कार्य बुधबार सकिएको हो।
आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले इन्भर्ट सकिएपछि अहिले लाइनिङ कार्य तीव्र रूपमा भइरहेको जानकारी दिइन्। हालसम्म ८३४ मिटर लाइनिङ सम्पन्न भइसकेको छ।
पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा निर्माण भइरहेको यो सुरुङमार्गको भौतिक प्रगति ५६.३ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५०.२४ प्रतिशत रहेको छ। सुरुङको ब्रेक थ्रु भइसकेपछि कार्यगत गति अझै बढेको आयोजनाले जनाएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्म १,१२६ मिटर लामो सुरुङमार्ग २०७९ सालदेखि निर्माण थालिएको हो। निर्माण कार्य चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन ले रु ७ अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको हो। निर्माण कार्य सन् २०२६ (वि.सं. २०८३) भित्र सम्पन्न गर्ने लक्ष्य छ।
उक्त खण्ड अत्यधिक पहिरो प्रभावित क्षेत्र रहेकाले यातायातका लागि सुरक्षित विकल्पस्वरूप सुरुङमार्ग निर्माण गरिएको हो। यो खण्ड हुँदै गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दी जोडिने भएकाले सुरुङमार्गले महत्वपूर्ण यातायात सहजता ल्याउने अपेक्षा गरिएको छ।
सरकारले आगामी आर्थिक वर्षका लागि सिद्धबाबा सुरुङमार्ग र नागढुङ्गा सुरुङमार्गका लागि संयुक्त रूपमा रु २ अर्ब ६० करोड विनियोजन गरेको छ।


