मुस्ताङ, १९ असार: मुस्ताङको जोमसोममा नेपाल सरकारले वायु गुणस्तर मापन केन्द्र स्थापना गरेको छ। वातावरण विभागले जिल्ला प्रशासन कार्यालय नजिकै रहेको शालिग्राम उद्यान पार्कमा देशको ३१औं वायु गुणस्तर मापन केन्द्र निर्माण गरेको हो।
विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार यहाँको केन्द्र वातावरणीय स्वच्छता कायम राख्ने, प्रदूषण नियन्त्रण गर्ने, दिगो विकासमा सहयोग पुर्याउने र मानव स्वास्थ्यलाई संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको हो।
“समुन्द्री सतहबाट तीन हजार मिटरभन्दा माथिको उचाइमा विश्वका पाँचवटा वायु मापन केन्द्रमध्ये दुई नेपालमा छन्,” सुवेदीले जानकारी दिनुभयो, “पहिलो केन्द्र मुगुको रारामा र दोस्रो अहिले मुस्ताङको जोमसोममा स्थापना गरिएको हो। यसका लागि झण्डै रु एक करोडको लागतमा प्रविधि जडान गरिएको छ।”
उक्त मापन केन्द्रमा दुई हजार किलोवाट क्षमताको सौर्यऊर्जाबाट सञ्चालन हुने सोलार प्यानल, विद्युत् पहुँच र इन्टरनेटको सुविधा जडान गरिएको छ। यस प्रविधिबाट वायुको गुणस्तर, वातावरणीय स्वच्छता तथा भावी रणनीति तय गर्नका लागि आवश्यक डेटा सङ्कलन गर्न सकिनेछ।
महानिर्देशक सुवेदीले प्रारम्भिक परीक्षणमा जोमसोमको वायु गुणस्तर सूचकांक (AQI) मात्र ३ देखिएको जानकारी दिनुभयो। “विश्व स्वास्थ्य सङ्गठनले ५० अंकसम्मलाई स्वच्छ वायु मानेको छ, हामीले ४० सम्मलाई राम्रो भनेका छौं। जोमसोममा ३ अंक देखिनु निकै उत्कृष्ट स्थिति हो,” उहाँले भन्नुभयो, “यो वायु प्रदूषण शून्य सरह हो भन्ने प्रमाण हो।”
यो केन्द्रको स्थापना सँगै मुस्ताङ अब नेपालको स्वच्छतम् वायुमण्डल भएका जिल्लामध्ये एकको रूपमा चिनिने अपेक्षा गरिएको छ।


