काठमाडौँ, १८ असार: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल अतिकम विकसित देश (एलडिसी) बाट स्तरोन्नतिपछि पनि बलियो अन्तर्राष्ट्रिय साझेदारी र जलवायुमैत्री वित्तीयकरणको आवश्यकता औँल्याउँदै विश्व समुदायसँग सहयोगको अपिल गर्नुभएको छ।
मङ्गलबार स्पेनको सेभिल्लास्थित फाइब्स सेभिल्ला प्रदर्शनी तथा सम्मेलन केन्द्रमा आयोजित ‘सशक्तीकरणका लागि लचिलोपन: दिगो एलडिसी स्तरोन्नतिका लागि जलवायु–स्मार्ट वित्तीयकरण’ शीर्षकको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले जलवायु अनुकूलन र दिगो विकासका लागि दीर्घकालीन साझेदारी अपरिहार्य रहेको बताए।
एलडिसीबाट स्तरोन्नति: उपलब्धि र चुनौती दुवै
अध्यक्ष ढकालले सन् २०२६ मा नेपाल एलडिसी श्रेणीबाट स्तरोन्नतिमा पुग्ने तयारीमा रहेको उल्लेख गर्दै भने, “यो एक उल्लेखनीय उपलब्धि हो, तर यससँगै गम्भीर चुनौती पनि थपिनेछ।” उनका अनुसार, नेपालले एलडिसी स्तरोन्नतिका लागि तीनमध्ये दुई मापदण्ड पूरा गरिसकेको छ, तर प्रतिव्यक्ति आय अझै न्यून छ र जलवायु परिवर्तनको उच्च जोखिममा नेपाल परेको छ।
जलवायु अनुकूलनका लागि विशाल वित्तीय आवश्यकता
“नेपालको राष्ट्रिय अनुकूलन योजना (NAP) ले सन् २०५० सम्म जलवायु अनुकूलनका लागि करिब ४७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ, जुन वार्षिक रूपमा झन्डै १.३ अर्ब डलर पर्छ,” अध्यक्ष ढकालले बताए। साथै, नेपालले दिगो विकास लक्ष्य (SDGs) हासिल गर्न वार्षिक रूपमा जिडिपीको करिब ११ प्रतिशत बराबरको वित्तीय अन्तरको सामना गरिरहेको उनले स्पष्ट पारे।
नयाँ प्रकारको अन्तर्राष्ट्रिय साझेदारीको आवश्यकता
अध्यक्ष ढकालले एलडिसी स्तरोन्नतिलाई अन्तर्राष्ट्रिय समर्थनको अन्त्य होइन, तर सहकार्यको नयाँ युगको सुरुवातको रूपमा लिनु पर्नेमा जोड दिनुभयो। “हामी स्वच्छ ऊर्जामा लगानी, जलवायु लचिलोपन निर्माण, र जोखिम न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गर्दछौं,” उनले भने।
निजी क्षेत्रको तर्फबाट सहयोग गर्न तयार
अध्यक्ष ढकालले नेपालका निजी क्षेत्रहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ पनि यस कार्यका लागि आवश्यक सहकार्य र लगानीको पहल गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्।
कार्यक्रममा विश्वका नीति निर्माता, विकास साझेदार, निजी क्षेत्रका प्रतिनिधि र विशेषज्ञहरू सहभागी थिए। सम्मेलनमा एलडिसी मुलुकहरूको जलवायु लचिलोपन, वित्तीय आवश्यकता, र दिगो विकासका अवसरबारे गहन छलफल भएको थियो।


