काठमाडौं: खानेपानी मन्त्री प्रदीप यादवले स्पेनको सेभिल्लामा संयुक्त राष्ट्रसंघको आयोजनामा सम्पन्न ‘विकासका लागि वित्तीयकरण’ शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालका खानेपानी तथा सरसफाइ क्षेत्रलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरेका छन्।
३० जुनदेखि ३ जुलाई २०२५ सम्म चलेको सो सम्मेलनमा सहभागी मन्त्री यादवले नेपालले सुरक्षित, समावेशी र दिगो खानेपानी तथा सरसफाइ सुनिश्चित गर्न लिएको राष्ट्रिय प्रतिबद्धता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिएको जानकारी दिए।
“अबको लक्ष्य — सुरक्षित र दिगो सेवा”
“सन् २०१९ मा खुला दिसामुक्त राष्ट्र बन्न सफल नेपाल अब सुरक्षित, समावेशी र दिगो खानेपानी तथा सरसफाइ सेवाको सुनिश्चिततामा केन्द्रित भएको छ,” मन्त्री यादवले सम्मेलनमा भने। “अन्य देशका अनुभवबाट सिक्दै, नेपालले छिटो प्रगति गर्ने रणनीति अवलम्बन गरेको छ।”
ओली नेतृत्वमा सुरु अभियानले अन्तर्राष्ट्रिय मान्यता पाएको दाबी
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सुरु गरिएको यो अभियानले केवल राष्ट्रिय स्तरमा होइन, अन्तर्राष्ट्रिय समुदायमा पनि सकारात्मक प्रभाव पारेको यादवको भनाइ छ।
“वित्तीय संरचना सुदृढ नगरी लक्ष्य सम्भव छैन”
मन्त्री यादवले खानेपानी तथा सरसफाइमा सबैको पहुँच सुनिश्चित गर्न आवश्यक वित्तीय स्रोतको सुनिश्चितता र त्यसको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताए। “संरचनागत चुनौतीहरूको समाधान वित्तीय स्रोत बिना सम्भव हुँदैन,” उनले भने। “प्रधानमन्त्रीज्यूको सम्मेलनमा सहभागिता हाम्रो राष्ट्रिय प्रतिबद्धतालाई अझ सुदृढ बनाउनेछ।”
उनका अनुसार, राष्ट्रप्रमुखको विशेष पहल अन्तर्गत वित्तीय संरचना सुदृढ बनाउने प्रतिबद्धता सम्मेलनमा स्पष्ट रूपमा प्रस्तुत गरिएको छ।
अघिल्लो सम्मेलनको समीक्षा र अहिलेको कार्यान्वयन
“सन् २०२२ मा सम्पन्न मन्त्रीस्तरीय सम्मेलनबाट सिक्दै, विगतका कमजोरीहरू सुधार गर्दै हाल उच्च राजनीतिक तहबाट कार्यान्वयन अघि बढाइएको छ,” मन्त्री यादवले स्पष्ट पारे।
सफलताको आशा
अन्य मुलुकका सफल अभ्यासहरूबाट प्रेरणा लिएर नेपालले पनि लक्ष्यअनुसार तीव्र प्रगति गर्ने अपेक्षा गरिएको उनले बताए। “खुला दिसामुक्त राष्ट्र बनेपछि अब सुरक्षित र दिगो सेवा सुनिश्चित गर्न हामी उच्च नेतृत्वको सक्रियतासाथ अघि बढिरहेका छौं,” मन्त्री यादवले भने।


