Sunday, November 8, 2026
Homeसामाचारसंगीतकार शाक्यको टाउकोमा बोतल हानी गम्भीर घाइते बनाउनेविरुद्ध म्याद न्यायाधीशले इन्कार गरेपछि...

संगीतकार शाक्यको टाउकोमा बोतल हानी गम्भीर घाइते बनाउनेविरुद्ध म्याद न्यायाधीशले इन्कार गरेपछि न्यायाधीश विरुद्ध उजुरी

ललितपुर: ललितपुरको सानेपास्थित ‘भोकमाण्डु’ रेस्टुरेन्टमा संगीतकार शाक्यमाथि भएको कुटपिट घटनामा संलग्न व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउन रोकेका न्यायाधीश विरुद्ध उजुरी दर्ता गरिएको छ।

घटनापछि गम्भीर घाइते भएका शाक्यले जिल्ला अदालत ललितपुरका न्यायाधीश कोइरालाविरुद्ध न्याय परिषद्मा उजुरी दिएका हुन्।

असार ८ गते बिहान ४ बजेतिर, भैंसेपाटी घर भएका संगीतकार शाक्यमाथि चार जना युवाहरूले अचानक आक्रमण गरी बियरको बोतल र हेलमेट प्रयोग गरेर निर्घात कुटपिट गरेका थिए। टाउकोमा गम्भीर चोट लागेका शाक्यको उपचार सुमेरु सिटी अस्पतालको आईसीयू मा गरिएको थियो।

असार १० गते, शाक्यले अस्पतालबाटै जाहेरी दिँदै ललितपुर प्रहरी परिसर, जावलाखेलमा उजुरी दर्ता गरेका थिए। प्रहरीले कुटपिटमा संलग्न अछाम घर भएका २२ वर्षीय महेन्द्र रावल र कैलाली लम्किचुहा घर भएका २६ वर्षीय धर्मराज खड्कालाई ‘जरुरी पक्राउ पुर्जी’ जारी गरेर पक्राउ गरेको थियो।

तर न्यायाधीश कोइरालाले मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ५ (२) अनुसार पक्राउ स्वीकृत दिन नहुने ठहर गर्दै उनीहरूलाई थुनामुक्त गर्न आदेश दिएका थिए।
त्यसपछि अनुसन्धान प्रक्रिया रोकिएको र पक्राउ परेकाहरूसमेत रिहा भएका थिए।

घटनामा ‘मोहन खड्का’ (जो २०८१ जेठ २ गते कीर्तिपुरमा ग्याङ फाइटमा संलग्न रहँदा खुकुरीसहित पक्राउ परेका थिए) र ‘कार्बन’ भनेर चिनिने युवक पनि संलग्न रहेको शाक्यकी साथी रश्मी सिंह महर्जनले जानकारी दिइन्।

शाक्यका साथी सर्वज्ञ समशेर जबरा र महर्जन स्वयं घटनास्थलमा उपस्थित थिए। उनीहरूका अनुसार, अन्तर्राष्ट्रिय म्युजिक दिवस मनाएर फर्किने क्रममा ‘भोकमाण्डु’मा बर्गर खान गएका शाक्यमाथि निस्कँदै गर्दा निहुँ खोजेर आक्रमण गरिएको थियो।

घटनापछि ‘ज्यान मार्ने उद्योग’ अन्तर्गत जाहेरी दर्ता गरिएको भए पनि न्यायालयबाट अनुमति नपाउँदा अनुसन्धान अगाडि बढ्न सकेको छैन। बाँकी दुई अभियुक्त अझै फरार छन्।

प्रहरी अनुसन्धान अघि नबढ्दा आफू असुरक्षित महसुस भएको भन्दै शाक्यले अस्पतालबाट नै चिकित्सकलाई डिस्चार्जको आग्रह गरेका थिए।

पीडित शाक्यले दोषीहरूलाई संरक्षण गर्ने शैलीमा आदेश दिएको भन्दै न्यायाधीशविरुद्ध न्यायपरिषद्मा औपचारिक उजुरी दिएका हुन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका