बागमती, १७ असार: पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चार्जिङ प्वाइन्ट नजिकै आज बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक घाइते भएका छन्।
भारतको वनारसबाट रिद्धिसिद्धि सिमेन्ट उद्योगका लागि कोइला बोकेर आउँदै गरेको युपी ६१ एटी ०९६२ नम्बरको ट्रक दुर्घटनामा परेपछि गाजीपुर जिल्लाको पुरैनियाँ निवासी ४५ वर्षीय चालक महेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए।
ट्रकभित्रै च्यापिएर अचेत अवस्थामा रहेका चालक यादवलाई उद्धार गरी हेटौँडा अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई तत्कालै मृत घोषणा गरेका थिए।
दुर्घटनामा परेर घाइते भएका २६ वर्षीय सहचालक मनोज यादवको हेटौँडा अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।


