काठमाडौँ, १५ असार: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि किसानलाई न्याय गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। राष्ट्रिय धान दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले जलवायु अनुकूल धानका जात र स्थानअनुसार मलको सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए।
उनले सहकारीमार्फत साना किसानलाई बजार पहुँच सहज गरिनु पर्नेमा जोड दिँदै भने, “धानबाली हाम्रो प्रमुख खाद्यबाली मात्र नभई सांस्कृतिक पहिचान, आर्थिक आधार र आत्मनिर्भरताको महत्त्वपूर्ण कडी पनि हो।”
नेपालको कुल खाद्यान्न उत्पादनमा धानको योगदान ५० प्रतिशतभन्दा बढी रहेको उल्लेख गर्दै दाहालले धानलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रूपमा परिभाषित गरे। उनले यस वर्षको धान दिवसको नारा ‘धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता’ ले धान खेतीमा उत्पादकत्व वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणको आवश्यकता स्पष्ट पार्ने बताए।
मल, बीउ र सिँचाइको समस्या गम्भीर
समयमै मल, बीउ तथा सिँचाइको सुविधा नपाउँदा किसानले ठूलो कठिनाइ खेप्नुपरेको भन्दै दाहालले वर्तमान सरकारप्रति गुनासो व्यक्त गरे। उनले उल्लेख गरे, “मैले नेतृत्व गरेको सरकारले रासायनिक मलको आयात र वितरणमा पारदर्शिता ल्याएको थियो। मल आपूर्ति सुनिश्चित गरिएको थियो र सिँचाइ परियोजनाहरूलाई प्राथमिकता दिँदै किसानका खेतसम्म पानी पुर्याउने सघन प्रयास गरिएको थियो।” तर अहिलेको गठबन्धन सरकारको कमजोर नीतिका कारण समस्या झनै जटिल बन्दै गएको उनको भनाइ छ।
धान जोनमा लगानीको माग
अध्यक्ष दाहालले बीउ, मल, सिँचाइ र धान जोनमा पर्याप्त लगानी गरी धान बालीमा सघनता ल्याउन सरकारसँग माग गरे। “आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि धान खेतीमा परनिर्भरता अन्त्य गर्नुपर्छ,” उनले भने। साथै, सरकार गम्भीर भएर किसानप्रति न्याय गर्न तयार हुनुपर्ने उनले जोड दिए।


