काठमाडौँ: देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने मधेश प्रदेशमा आंशिक बदलीसहित मौसम प्रायः सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ।
वर्षा र हावाहुरीको सम्भावना
कर्णाली, सुदूरपश्चिम र अन्य पहाडी भू–भागका केही स्थानमा, साथै अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि हुन सक्नेछ।
देशका उच्च–पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका केही तराई क्षेत्रहरूमा हावाहुरीको जोखिम पनि रहेको महाशाखाले जानकारी दिएको छ।
राति पनि सावधानी आवश्यक
आज राति पनि मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशलगायत पहाडी भू–भागमा केही स्थान र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। साथै, कोशी र बागमतीका उच्च–पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ।
सावधानी अपनाउन आग्रह
मौसम महाशाखाले वर्षा र हिमपातका कारण नदीको जल सतह बढ्न सक्ने, बाढी, पहिरो र भूक्षयजस्ता प्राकृतिक प्रकोपको जोखिम रहने बताएको छ।
त्यसले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असुविधा पुर्याउन सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।


