काठमाडौँ, १२ असार: प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ प्रस्थान गर्नुहुनेछ। उहाँले स्पेनमा यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिनुहुनेछ।
प्रधानमन्त्रीको भ्रमणका लागि सम्पूर्ण तयारी पूरा भएको छ। स्पेनस्थित नेपाली समुदाय उहाँको स्वागतका लागि उत्साहित छ भनी त्यहाँका लागि नेपाली राजदूत शनिल नेपालले जानकारी दिनुभयो।
यस भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। भेटवार्तामा नेपाल–स्पेनबीच सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर हुने दूतावासले जनाएको छ।
प्रधानमन्त्री ओलीले भ्रमणको सिलसिलामा त्यहाँस्थित नेपाली समुदायका प्रतिनिधि र स्पेनका उद्योगी–व्यवसायीसँग पनि अन्तरक्रिया गर्नुहुनेछ। साथै, सम्मेलनका क्रममा अन्य द्विपक्षीय भेटघाटहरू पनि तय गरिएको छ।
पश्चिम युरोपामा रहेको स्पेन संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रात्मक शासन प्रणाली रहेको देश हो। करिब ५ लाख ५ हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस देशको जनसङ्ख्या ४ करोड ७४ लाखभन्दा बढी रहेको छ। सन् १९८६ मा युरोपेली सङ्घ र १९९५ मा सेन्जेन क्षेत्रको सदस्य बनेको स्पेनमा विविध जातजातिका मानिसहरू बसोबास गर्छन्।
स्पेन फुटबलको लागि पनि प्रसिद्ध मुलुक हो, जहाँ करिब २० हजार फुटबल क्लब र १० लाखभन्दा बढी दर्ता भएका खेलाडीहरू छन्। भाषाका दृष्टिकोणले हेर्दा स्पेनिस भाषा विश्वमै चौथो सबैभन्दा धेरै बोलिने भाषा हो।
नेपाल–स्पेन दौत्य सम्बन्ध
नेपाल र स्पेनबीच कूटनीतिक सम्बन्ध सन् १९६८ मे १३ मा स्थापना भए पनि स्पेनमा नेपाली आवासीय राजदूतावास सन् २०१८ मा मात्र स्थापना भएको हो। हालसम्म स्पेनमा करिब २० हजार नेपाली विभिन्न पेशा तथा व्यवसायमा संलग्न छन्, विशेषतः कृषि, होटल, पर्यटन र निर्माण क्षेत्रमा।
दुई देशबीच विगतमा पनि उच्चस्तरीय भ्रमण आदानप्रदान भएका छन्। सन् १९८३ मा तत्कालीन राजा वीरेन्द्रले स्पेन भ्रमण गर्नुभएको थियो भने सन् १९८७ मा स्पेनका राजा कार्लाेसले नेपालको राजकीय भ्रमण गर्नुभएको थियो।
सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पेनमा ‘द्वन्द्वमा परेका व्यक्तिहरूको बेचबिखनसम्बन्धी’ अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिनुभएको थियो। त्यसपछि सन् २०१९ मा सञ्चारमन्त्री गोकुल बास्कोटाले स्पेनमा आयोजित मन्त्रीस्तरीय जिएसएमए कार्यक्रममा सहभागिता जनाउनुभएको थियो। सन् २०२१ मा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्पेनको भ्रमण गर्नुभएको थियो, जहाँ जलवायु परिवर्तन र पर्यटनका क्षेत्रमा सहकार्यको सहमति भएको थियो।
हाल स्पेन नेपाली कामदारका लागि नयाँ गन्तव्यका रूपमा उदीयमान छ। पर्यटकीय हिसाबले पनि स्पेन विश्वको मुख्य गन्तव्य हो, जहाँ वार्षिक रूपमा सवा करोडभन्दा बढी पर्यटक भ्रमण गर्छन्। सन् २०१८ मा मात्रै १९ हजार ५६३ स्पेनिस पर्यटक नेपाल आएका थिए।
नेपालको भौगोलिक विविधता, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, ध्यान र योगजस्ता आकर्षणले स्पेनिस पर्यटकलाई आकर्षित गर्ने ठूलो सम्भावना रहेको छ। प्रधानमन्त्रीको यो भ्रमणले नेपालबारे जानकारी फैलाउन र युरोपेली पर्यटकलाई आकर्षित गर्न थप सघाउने अपेक्षा गरिएको छ।


