जनकपुर — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमबार पर्साको ड्राइपोर्टदेखि परवानीपुरसम्मको सडकखण्डमा गरिएको छड्के अनुगमनका क्रममा अवैध रूपमा सवारी कर असुली गर्दै गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएका छन्।
भारतबाट भित्रिने सवारीसाधन, विशेषगरी भारतीय नम्बर प्लेट भएका गाडीहरूबाट तोकिएको भन्दा बढी रकम असुली भइरहेको गुनासो बढेपछि मुख्यमन्त्री सिंह स्वयम् अनुगमनमा निस्किएका थिए। ड्राइपोर्टदेखि परवानीपुरसम्मको नयाँ सडकखण्डमा राखिएको अस्थायी ढाट (टोल नाका) मा गैरकानुनी रूपमा रकम असुली भइरहेको भेटिएपछि प्रहरीले सोही स्थानबाट तीन जनालाई रंगेहात पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको छ। यस्ता गतिविधिविरुद्ध प्रदेश सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गर्ने मुख्यमन्त्री सिंहले स्पष्ट पारे। उनले भने, “जनताको गुनासो सुनिन्थ्यो, आज प्रत्यक्ष देखियो। अवैध असुली, बलजफ्ती कर र सीमापार सवारीसाधनमाथिको दुव्र्यवहार अब सह्य हुँदैन।”
प्रदेश सरकारले यसअघि पनि सीमा नाका, सडकढाट तथा अन्य संवेदनशील स्थानहरूमा हुने अवैध कारोबार र कर असुली नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिरहेको छ। सोमबारको छड्के अनुगमनलाई सरकारको कडाइ र कारबाहीको संकेतको रूपमा लिइएको छ।
पक्राउ परेकाहरूको नाम र विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। अनुसन्धान जारी रहेको र त्यसपछि थप जानकारी दिने जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।


