भक्तपुर — भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित ऐतिहासिक च्वङा गणेश मन्दिर उक्लिने सडक कालोपत्रे गर्ने काममा नेपाली सेनाले अवरोध गरेको छ। मन्दिर जान प्रयोग हुने उत्तर–पूर्व दिशातर्फको फराकिलो सडक कालोपत्रेको अन्तिम चरणमा रहेको बेला सेनाले सडकको पश्चिम भाग आफ्नो स्वामित्वमा रहेको दाबी गर्दै काम रोक्न निर्देशन दिएको हो।
स्थानीयका अनुसार नजिकै रहेको सैनिक आवासीय महाविद्यालयले उक्त क्षेत्रमा आफ्नो स्वामित्व भएको भन्दै कालोपत्रे रोकिएको हो। “यो बाटो त उहिलेदेखि चलनचल्तीमै आएको हो,” एक स्थानीय बासिन्दाले भने, “सेनाले पहिल्यै आफ्नो सिमाना तारबारसहित कायम गरिसकेको थियो। तर अहिले आएर पश्चिम किनारको भागमा मात्र अवरोध गरियो।”
तीन सय मिटर लम्बाइ र ६ मिटर चौडाइ भएको दुई लेनको सडकमा अहिले कालोपत्रे भइरहेको छ। तर मन्दिर उक्लिने चोकको केही मिटर क्षेत्रमा मात्र सेनाले विवाद उठाएको छ। स्थानीयका अनुसार सेनाको दाबी अनुसार कालोपत्रे गर्दा सो खण्डमा एक लेन पनि बाँकी नहुने देखिन्छ, जसका कारण गाडी चल्न नसक्ने र पैदल यात्रामात्र सम्भव हुने अवस्था सिर्जना हुने छ।
स्थानीयले यसअघि नै नेपाली सेनाका अधिकारीलाई हस्ताक्षरसहितको बिन्तीपत्र बुझाए पनि कुनै सहमति जुट्न सकेको छैन।
यस विषयमा भक्तपुर नगरपालिकाको अठारौँ नगरसभा बैठकमा पनि छलफल भएको थियो। नगर प्रमुख सुनील प्रजापतिले सडक पर्खाल निर्माणका लागि एक करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको भए पनि सेनाको अवरोधका कारण काम प्रभावित भएको जनाएका थिए।
भक्तपुरका सांसद प्रेम सुवालले पनि आइतबारको संसद बैठकमा सरकारको ध्यानाकर्षण गराउँदै अविलम्ब समाधान खोज्न माग गरेका छन्।
अब सडक निर्माण अगाडि बढाउने कि सेनासँग सहमति खोज्ने भन्ने विषय स्थानीय तह र संघीय सरकारबीचको समन्वयमा टुंगो लाग्ने देखिएको छ।


