चितवन, ९ असार: चितवन राष्ट्रिय निकुञ्जले वर्षात्को मौसममा सम्भावित चोरीसिकार नियन्त्रण गर्न गोप्य रूपमा ‘स्पाई क्यामेरा’ जडान गरेको छ। संवेदनशील क्षेत्रहरूमा सुरक्षा निगरानी मजबुत बनाउन ३० वटा क्यामेरा राखिएको निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरले जानकारी दिए।
उनका अनुसार मनसुन सक्रिय भएसँगै हरेक क्षेत्रमा मानव उपस्थितिमा गस्ती सम्भव नहुने भएकाले क्यामेरा जडान गरिएको हो। यी क्यामेरा यस्तो प्रविधियुक्त छन्, जसले मानवीय आवागमन हुँदा तस्बिर खिचेर सुरक्षित राख्ने क्षमता राख्दछ। चोरीसिकारलगायत अवैध क्रियाकलाप नियन्त्रणमा यसको प्रयोग प्रभावकारी हुने अपेक्षा गरिएको छ।
निकुञ्जको सुरक्षामा तैनाथ नियमित सेनाका अतिरिक्त विभिन्न गणबाट थप ९० जना सैनिकको टोली परिचालन गरिएको छ। ती टोलीलाई कर्मचारी तथा सुरक्षाकर्मी नपुगेका दुर्गम क्षेत्रमा खटाइएको छ। टोली तीन महिनासम्म सुरक्षामा रहनेछ।
यसैबीच, हात्तीमार्फत गस्ती पनि बढाइएको छ। वर्षायाम सुरु भएसँगै निकुञ्ज आसपासका स्थानीय बासिन्दा खेतीपातीमा व्यस्त हुने र संरक्षण कार्यमा सहभागीता कम हुने भएकाले यो समय चोरीसिकारको जोखिम उच्च हुने बताइएको छ। सुरक्षाका उपायहरूलाई व्यापक बनाउँदै निकुञ्जले गस्ती तथा प्रविधि प्रयोगलाई सशक्त बनाएको छ।


