ललितपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्को ओभरपासलाई नेपालको पहिलो ओभरपास निर्माणको उपलब्धि भएको भन्दै देश अब द्रुतगतिमा विकासको बाटोमा अघि बढिसकेको दाबी गरेका छन्।
शुक्रवार ग्वार्को ओभरपासको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ओभरपास निर्माणसँगै ग्वार्को क्षेत्रमा लामो समयदेखिको सवारी जामको समस्या समाधान भएको बताए। उनले सरकार बहुआयामिक तथा समग्र विकासको अभियानमा अगाडि बढिरहेको र यस यात्रामा सबैको साथ आवश्यक रहेको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले भने, “हामी निरन्तर विकासको बाटोमा छौं। हालै दैलेखमा नेपालका लागि ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भएको छ। तीनवटा कुँवामध्ये एक कुँवाबाट ग्यास उत्पादन भइसकेको छ, जसको उत्खननको थालनी मैले नै गरेको हुँ।”
उनले धौवादी फलाम खानीको उत्खनन सुरू भएसँगै नेपालमै फलाम उत्पादन हुने र यसले देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउने दाबी गरे। “यसरी विकासका काम अघि बढ्दा विदेशी मुद्राको बहिर्गमन रोकिनेछ, स्वदेशमै रोजगारी सिर्जना हुनेछ,” उनले भने।
प्रधानमन्त्रीले कृषिको आधुनिकीकरण, नयाँ उद्योगको स्थापना, सामाजिक तथा प्रशासनिक सुधारमार्फत समृद्ध नेपालको मार्ग प्रशस्त गरिने उल्लेख गरे। साथै, निराशा होइन, आशा र सम्भावनाको खोजी गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए।
ओलीले सुनकोशी–मरिन डाइभर्सन आयोजना, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्गलगायत आयोजनाले देशको भौतिक पूर्वाधार विकासमा गति ल्याउने बताए।
ग्वार्को ओभरपास इञ्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन (ईपीसी) ढाँचामा निर्माण भएको नेपालकै पहिलो ओभरपास हो। १७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा आशिष समानान्तर रेलिगेर जेभीले निर्माण गरेको यो फ्लाइओभरमा पाँच सय मिटरको अप्रोच सडकसहित ३५ मिटर स्पानको चार लेन पुल निर्माण गरिएको छ। सन् २०७८ मा सुरु गरिएको ओभरपास निर्माणले अब ग्वार्को चोकको ट्राफिक जामलाई ठोस रूपमा समाधान गर्ने अपेक्षा गरिएको छ।








