सिरहा, ३ असार: दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको गोलबजार–लगडी–गदियानी सडकको निर्माण पाँच वर्ष बितिसक्दा पनि अधुरै छ। सिरहा नगरपालिका, अर्नमा गाउँपालिका र गोलबजार नगरपालिकालाई जोड्ने २८ किलोमिटर लामो यो सडक वर्षौंदेखि स्थानीयका लागि हिलो र धुलोको पर्याय बनेको छ।
स्थानीय जगेश्वर यादवले सडक कालोपत्र हुने आशामा उत्साहित भएका नागरिक अहिले निराश बनेको बताउनुभयो। “ठेकेदारले सडक छेउ खनेर त्यसै छाडेका छन्, समयमा काम नसकिनुका कारण सवारी आवागमन असहज मात्र होइन, बर्खामा हिलो र हिउँदमा धुलो खेप्न बाध्य छौँ,” उहाँले भन्नुभयो।
अर्नमा गाउँपालिका–३ का सिकेन्द्र यादवले यो सडक प्रत्येक निर्वाचनमा चुनावी मुद्दा बन्ने गरे पनि काममा प्रगति नदेखिएको गुनासो गर्नुभयो। “निर्माण सुरु भएपछि केही आशा जागेको थियो, तर पाँच वर्ष बित्दा पनि अवस्था उस्तै छ,” उहाँले भन्नुभयो।
२०७७ साल भदौमा ठेक्का स्वीकृत भएर २०७९ फागुन २३ भित्र सक्ने लक्ष्यसहित तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शिलान्यास गरेको यो सडक हुलाकी सडक निर्देशनालय, योजना कार्यालय जनकपुरमार्फत निर्माणाधीन छ। तर, पाँच वर्षको अवधिमा केही ठाउँमा मात्रै नाला निर्माण र ग्राभेल हालिएको छ।
निर्देशनालयले म्याद दुईपटक—पहिलोपटक २०८० फागुन २२ र दोस्रोपटक २०८१ फागुन २२ सम्म—थपिसकेको छ। तर, निर्देशनालयका प्रमुख कृष्णकुमार महतोका अनुसार हालसम्म करिब २८ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। अब अन्तिमपटक एक वर्षको म्याद थप्ने तयारी भइरहेको र काम पूरा नभए ठेकेदार कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाइने बताउनुभयो।
अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक यादवले निर्देशनालय र ठेकेदार कम्पनीको लापरवाहीले स्थानीयले अत्यधिक सास्ती खेप्नुपरेको बताउनुभयो। “सम्पर्कमै नआउने ठेकेदार कम्पनीलाई पटक–पटक अनुरोध गर्दा पनि कुनै सुनुवाइ भएको छैन,” उहाँले गुनासो गर्नुभयो।
निर्देशनालयले रु ९१ करोड ३९ लाख ७९ हजार ६० मा ठेक्का दिएको सडक आयोजनामा हालसम्म रु २५ करोड ४९ लाख ७ हजार ७१४ (भ्याटबाहेक) भुक्तानी भइसकेको जनाएको छ। तथापि, जनताको झेल्नुपर्ने हिलो, धुलो र यातायात सास्ती भने यथावत् छ।


