Sunday, July 5, 2026
Homeसामाचार२७ वर्षपछि रत्नेचौर–भकुण्डे सडकमा कालोपत्र सुरु, यात्राअवधि घट्यो

२७ वर्षपछि रत्नेचौर–भकुण्डे सडकमा कालोपत्र सुरु, यात्राअवधि घट्यो

म्याग्दी, ३ असार: करिब २७ वर्षअघि ट्रयाक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक अन्ततः कालोपत्र हुन थालेको छ। बेनी नगरपालिका–१ रत्नेचौरबाट वडा नं २ भकुण्डे हुँदै तमाने जोड्ने १० किलोमिटर सडक खण्डको विस्तार, नाली, टेवा पर्खाल, घुम्ती सुधार र ग्रेड सुधार सकिएपछि अहिले सवबेस र बेस बिछ्याएर कालोपत्रको काम अघि बढाइएको हो।

सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजनाअन्तर्गत निर्माण भइरहेको यस सडकको उपल्लाचौर–अर्जम–फापरखेत खण्डमा पहिलो चरणमा ४ किलोमिटर कालोपत्र सुरु गरिएको कार्यालय प्रमुख हरि सुवेदीले जानकारी दिनुभयो।

हाल १ किलोमिटर २०० मिटर सडकमा ढलान भइसकेको छ। नौ मिटर फराकिलो सडकमा सात मिटर चौडाइमा डिबिएसडी प्रविधिबाट कालोपत्र गरिनेछ। वि.सं. २०५६ मा ट्रयाक खुलेको यो सडक बेनी नगरपालिका–१, २, ४ तथा बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाको प्रमुख आवागमन मार्ग हो।

२०७९ भदौ ६ गते रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता भएको योजनाको हालसम्म भौतिक प्रगति ७५ प्रतिशत र वित्तीय प्रगति ५९ प्रतिशत रहेको डिभिजन कार्यालयले जनाएको छ।

यस सडकका कारण अघिल्लो समय झन्डै एक घण्टा लाग्ने यात्रा अहिले २० मिनेटमा छोटिएको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो। चालु आर्थिक वर्षमा विनियोजन भएको चार करोड रुपैयाँ खर्च भइसकेको र आगामी वर्षका लागि तीन करोड रुपैयाँ विनियोजन भइसकेको छ।

सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदहरूको सिफारिसमा ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ मा प्रत्येक निर्वाचन क्षेत्रका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका