वाशिङ्टन डीसी (अमेरिका), २९ जेठः अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ।
बुधबार ह्वाइट हाउसमा आयोजित विशेष समारोहमा राजदूत रेग्मीले आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति ट्रम्पलाई बुझाउनुभएको नेपाली दूतावासले जनाएको छ।
सो अवसरमा राजदूत रेग्मीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री तथा सम्पूर्ण नेपाली जनताका तर्फबाट राष्ट्रपति ट्रम्पको उत्तम स्वास्थ्य, दीर्घायु र सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। साथै, नेपाल–अमेरिकाबीचको द्विपक्षीय तथा आपसी हितका सम्बन्धहरू आगामी दिनमा अझै सुदृढ र प्रभावकारी हुँदै जाने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो।
राजदूत रेग्मीले अमेरिकाले सामाजिक तथा आर्थिक क्षेत्रका साथै नेपालका विकास प्राथमिकतामा दिँदै आएको निरन्तर सहयोगप्रति आभार प्रकट गर्नुभयो।
राष्ट्रपति ट्रम्पले राजदूत रेग्मीलाई अमेरिकामा स्वागत गर्दै नयाँ जिम्मेवारीका लागि बधाई दिनुभयो। उनले नेपाल–अमेरिका सम्बन्धलाई साझा चासोका क्षेत्रमा सहकार्यमार्फत थप मजबुत बनाउन अमेरिकाको प्रतिबद्धता दोहोर्याउनुभयो।


