त्रिवेणी (नवलपरासी), २९ जेठः चैतेधानको उचित मूल्य नपाएपछि नवलपुरका किसान निराश भएका छन् । उत्पादन राम्रो भए पनि बजार मूल्य न्यून हुँदा उनीहरूको लगानीसमेत उठ्न सकेको छैन ।
मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा १० क्विन्टल चैतेधान उत्पादन गर्नुभयो । तर बजारमा प्रतिक्विन्टल रु. २,२०० मात्रै पाएपछि उहाँ चिन्तित हुनुहुन्छ । गत वर्ष भने उस्तै परिमाणको धान रु. ३,००० भन्दा बढी मूल्यमा बिक्री गर्नुभएको थियो ।
बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहनुभएका आलेका अनुसार, यस समूहले पाँच बिघामा धान खेती गरेको थियो । तर उचित मूल्य नपाएका कारण अधिकांश किसानले धान घरमै थन्क्याएका छन् ।
गैंडाकोटका अर्का किसान मानबहादुर थारु पनि प्रतिक्विन्टल रु. २,२०० मै धान बेच्न बाध्य भएको बताउनुहुन्छ । उहाँले लगानीसमेत नउठेको गुनासो गर्नुभयो ।
कृषि ज्ञान केन्द्र, नवलपुरका प्रमुख कूलप्रसाद तिवारीका अनुसार, सरकारले चैतेधानको समर्थन मूल्य रु. २,८७९ प्रतिक्विन्टल तोकेको छ । तर भारतबाट सस्तो मूल्यमा धान आयात भएकाले यहाँका किसानले बजारमा उचित मूल्य नपाएको हुनसक्ने उहाँको भनाइ छ ।
यो वर्ष नवलपुरमा झण्डै १,१०० हेक्टर जमिनमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।


