अदानचुली (हुम्ला), १९ जेठ: हुम्लाको अदानचुली गाउँपालिका–१, कुम्णामा ३३ केभी क्षमताको विद्युत् सबस्टेसन निर्माण कार्य सुरु गरिएको छ। नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्माण भइरहेको यो सबस्टेसन केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको भागस्वरूप हो।
हाल हुम्लामा दुई वटा ३३/३३ केभी क्षमताका सबस्टेसन—सदरमुकाम सिमकोट र अदानचुलीको कुम्णामा—निर्माण भइरहेको छ। यी दुवै सबस्टेसन निर्माण सम्पन्न भएपछि जिल्लाका सबै सातवटा गाउँपालिकामा नियमित र गुणस्तरीय विद्युत् सेवा पुग्ने विश्वास नेपाल विद्युत् प्राधिकरण, हिल्दुम वितरण केन्द्र प्रमुख जितेन्द्र शाहले व्यक्त गर्नुभयो।
शाहका अनुसार, “प्रसारण लाइन विस्तारपछि हुम्लामा मात्र होइन, छिमेकी जिल्लाहरू मुगु र बाजुराका स्थानीय तहहरूमा पनि विद्युत् सेवा विस्तार हुनेछ।”
हाल हिल्दुम वितरण केन्द्रमार्फत सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् पुगिसकेको छ। तर, अन्य गाउँपालिकामा भने अझै पनि लघु जलविद्युत्का भरमा निर्भर रहनु परेको छ। तल्लो क्षेत्र ताँजाकोटमा कादुरी संस्थाले लघु जलविद्युत् उत्पादन गरिरहेको छ भने अदानचुलीमा १०० किलोवाट क्षमताका दुई आयोजनाहरू रहेका छन्। ती आयोजनाहरू पटकपटक बिग्रिने समस्या भोगिरहेका छन्।
हाल सञ्चालनमा रहेको कुकुर फाल्ना लघु जलविद्युत् परियोजनाले वडा नं. ४, ५, र ६ का केही घरहरूमा मात्र विद्युत् पुर्याएको छ। वडाहरू १, २, र ३ का लागि निर्माण गरिएको छहराखेत जलविद्युत्को पावरहाउस गतवर्ष पहिरोले बगाएपछि अझै पुनःनिर्माण हुन सकेको छैन।
त्यसैले, गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न ३३ केभी प्रसारण लाइनबाट सबस्टेसन निर्माण थालिएको अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहले जानकारी दिनुभयो।
साथै, ११ केभी एलटी लाइन तान्ने काम पनि सुदूरपश्चिमबाट अघि बढाइएको छ। निर्माणको जिम्मेवारी लिएको न्यु स्मार्ट इलेक्ट्रीक एण्ड प्लम्बिङ सर्भिस प्रालिका सुनिल घिसिङका अनुसार, बाजुराको मार्तडी सबस्टेसनबाट कोल्टी, खत्त्याड हुँदै अदानचुली सबस्टेसनसम्म लाइन ल्याइँदैछ। हाल तीन हजार पोल गाड्ने काम भइरहेको र लक्ष दसैँभित्र विद्युत् बाल्ने रहेको छ।
हुम्ला र मुगुमा हाल चारवटा सबस्टेसन निर्माण भइरहेका छन् — सिमकोट, अदानचुली (हुम्ला), खत्त्याड र माङ्ग्री (मुगु)। तीमध्ये कुम्णा सबस्टेसनमा खटिएका इञ्जिनियर योगेन्द्र रोकायाले सबस्टेसन निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिनुभयो। कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले पनि हाल ३३ केभी प्रसारण लाइन स्तरोन्नतिको चरणमा रहेको बताउनुभयो।
अब हुम्ला पनि राष्ट्रिय ग्रिडमा जोडिने तयारी
वि.सं. २०८० साल भदौ २५ गते मुगुमा राष्ट्रिय ग्रिडको विद्युत् पुगेपछि देशका ७७ मध्ये ७६ जिल्ला राष्ट्रिय ग्रिडमा जोडिएका थिए। नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन विस्तार गर्दै मुगुको सदरमुकाम गमगढीसम्म विद्युत् पुर्याएको हो।
अब हुम्ला मात्र राष्ट्रिय ग्रिडमा बाँकी रहेको जिल्ला हो। तर, सिमकोट र अदानचुलीमा सबस्टेसन निर्माणसँगै केही महिनाभित्र हुम्ला पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिने निश्चित भएको प्राधिकरणले जनाएको छ।


