झापा: झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी पस्दा २२ घर डुबानमा परेका छन्। मनसुन सुरू भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पस्दा स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सरेका हुन्।
वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, र सडकबस्ती क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ।
“माईखोलामा सामान्य बाढी आउँदा पनि यस्तो अवस्था आएको हो,” अध्यक्ष चाम्लागाईले भन्नुभयो, “यदि ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका वडा नं. १ र २ का झण्डै ३,००० घरधुरी विस्थापित हुने जोखिम छ।”
यस वर्ष सामान्यभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको सूचनापछि स्थानीयवासीमा बाढीको त्रास बढ्दै गएको छ।


