काठमाडौँ: संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष ०८२/०८३ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यक्रम रहेको छ।
दिउँसो ३ बजे बस्ने संयुक्त बैठकमा नेपालको संविधानको धारा ११९ अनुसार अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिनुभयो। संसद् सचिवालयले दुवै सदनका सदस्यहरूलाई दिउँसो २:४५ बजेभित्र प्रतिनिधिसभा कक्षमा उपस्थित हुन अनुरोध गरेको छ।
त्यसअघि दिउँसो १:३० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र सार्वजनिक गर्नुहुनेछ। सोही बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पनि पेस गर्नुहुनेछ।
यसैगरी, राष्ट्रिय सभा बैठक दिउँसो १:४५ बजे बस्नेछ। सो बैठकमा पनि अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।


