काठमाडौँ: हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो लुम्बिनी प्रदेशसहित देशका अधिकांश पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने अपेक्षा गरिएको छ। पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुन सक्नेछ।
महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका पहाडी भागहरूमा पनि आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भागमा मौसम खुला रहने सम्भावना छ। यी प्रदेशका पहाडी क्षेत्रमा समेत मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै हिमाली भेगमा केही स्थानमा हल्का वर्षा र हिमपात हुनसक्नेछ।


