काठमाडौँ: हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सामान्यतः सफा वा आंशिक बदली रहनेछ। पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ, भने बाँकी भूभागका एक-दुई स्थानमा पनि यस्ता मौसमी गतिविधि हुन सक्छन्। साथै, उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
आज रातिको मौसमी पूर्वानुमान अनुसार मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ, भने बाँकी भूभागमा मौसम सफा वा आंशिक बदली रहनेछ। मधेस प्रदेश र अन्य प्रदेशका पहाडी क्षेत्रमा समेत केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना यथावत् रहेको महाशाखाले जनाएको छ।


