Friday, July 3, 2026
Homeसामाचारकोसी प्रोजेक्ट शो केसको उपाधि एक्मी इन्जिनियरिङलाई

कोसी प्रोजेक्ट शो केसको उपाधि एक्मी इन्जिनियरिङलाई

काठमाडौं: कोसी प्रोजेक्ट शोकेसको उपाधि एक्मी इन्जिनियरिङले जितेको छ। आइतबार काठमाडौंमा सम्पन्न फाइनल चरणमा नौ वटा टोलीलाई पछि पार्दै एक्मी इन्जिनियरिङ कलेजको ‘एक्मी कोस्टर’ टोलीले उपाधि हात पारेको हो।

कोसी प्रदेशको पर्यटन प्रवर्द्धन र प्रवर्द्धनात्मक योजनाहरू खोज्न एलिसन हस्पिटालिटीले आयोजना गरेको कोसी प्रोजेक्ट शोकेसमा फस्ट रनरअपको रुपमा पुल्चोक इन्जिनियरिङ कलेजको ‘फुल्चोक इयर फाइभ’ टोली र सेकेन्ड रनरअपको रुपमा नेपाल इन्जिनियरिङ कलेजको ‘एग्रो बस्ती’ टोली चयन भएका छन्।

प्रतियोगिताको उपाधि जित्ने ‘एक्मी कोस्टर’ टोलीले नगद एक लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने फस्ट रनरअपले रु ५० हजार र सेकेन्ड रनरअपले रु २५ हजार नगदसहित ट्रफी, प्रमाणपत्र र विभिन्न उपहारहरू प्राप्त गर्नेछन्। साथै उत्कृष्ट १० टोलीले आगामी दिनमा कोसी प्रदेशका लगानीकर्ता र सरोकारवालाहरू माझ पुनः आफ्नो प्रोजेक्ट प्रदर्शन गरेपछि थप पुरस्कार प्रदान गरिनेछ।

फाइनल चरणमा निर्णायकको रूपमा इन्जिनियर मन्दाकिनी कार्की, बैंकर नवराज सत्याल, आर्किटेक्ट पुनम शाह, युवा व्यवसायी तथा शैक्षिक सल्लाहकार शिशिर सिंखडा र पर्यटन व्यवसायी चन्द्र रिजालले सहभागी टोलीका प्रोजेक्टहरूको विस्तृत अध्ययन, अवलोकन र प्रस्तुति मूल्यांकन गरेका थिए।

नेपालमै पहिलो पटक सिभिल इन्जिनियरिङ र आर्किटेक्चरका विद्यार्थीहरूलाई समेटेर आयोजना गरिएको प्रतियोगिताले इन्जिनियरिङ र पर्यटनलाई जोड्दै नयाँ पर्यटकीय क्षेत्रहरूको पहिचान गरेको र गाउँ पर्यटनलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ।

एलिसन हस्पिटालिटीकी अध्यक्ष एलिना मगरका अनुसार, लगानीकर्ता, स्थानीय तह वा सरकारले प्रोजेक्ट कार्यान्वयन गर्न इच्छुक भएमा आवश्यक सहजीकरण प्रदान गरिनेछ। तीन दिनसम्म चलेको कोसी प्रोजेक्ट शोकेसले नेपालको पर्यटन क्षेत्रमा युवापुस्तालाई आकर्षित गर्नुका साथै मुलुकको अर्थतन्त्र सुधार र रोजगारी सृजनामा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतियोगिताको उत्कृष्ट १० टोलीमा ‘बियोन्ड द ब्रिज’ (ख्वप इन्जिनियरिङ कलेज), ‘कोशी एक्स्प्लोरर’ (पुल्चोक क्याम्पस), ‘पाथ फाइन्डर’ (पुल्चोक क्याम्पस), ‘केटुपिए’ (पुल्चोक क्याम्पस), ‘विनर’ (पुल्चोक क्याम्पस), ‘स्केच स्क्वायर्ड’ (पुल्चोक क्याम्पस), ‘रुलर रिज बिल्डर्स’ (नेपाल इन्जिनियरिङ कलेज) रहेका थिए।

त्यसअघि प्रारम्भिक चरणमा २१ टोलीले प्रतिस्पर्धा गरेका थिए।

फाइनल चरणमा छनोट भएका टोलीहरूले कन्सेप्ट पेपरमा तोकिएका डाँडाबजार, राजारानी, रौता पोखरी, सोलु, सङ्खुवासभा, पानीटार इलाम, सूर्योदय अन्तु इलाम, माई पोखरी, ओखलढुंगा लिखु, मुन्धुम सर्किट लगायतका क्षेत्रमा आधारित परियोजनाहरू तयार पारेका थिए र ती डमी प्रदर्शनीमा राखिएका थिए।

कोसी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम लगायत संस्थाले कोसी प्रोजेक्ट शोकेसलाई सहयोग गरेका थिए भने कार्यक्रम व्यवस्थापन काफल इभेन्टले गरेको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका