काठमाडौँ:नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले रेमिट्यान्सको नाममा नेपालमा अवैध पैसा भित्रिरहेको आशंका व्यक्त गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले गएको महिनामा मात्रै करिब २ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको तथ्याङ्क रहेको जानकारी दिँदै वैदेशिक रोजगारीमा गएकाले पठाएको रकम मात्रैले यस्तो उच्च रेमिट्यान्स सम्भव नदेखिएको बताए। उनले यस्तो अवस्थाले रेमिट्यान्सको आवरणमा अवैध रकम भित्रिएको आशंका गर्न बाध्य बनाएको उल्लेख गरे।
कोइरालाले यिनै कारणले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा विभिन्न चलखेल हुन सक्ने सम्भावना औँल्याए। उनका अनुसार, पार्टी सभापतिसँगको कुराकानीमा आफूले योग्य व्यक्ति नै गभर्नरमा नियुक्त हुने जानकारी पाएपछि ढुक्क भए पनि देशमा कतै गडबडी भइरहेको त होइन भन्ने चिन्ता भने कायम रहेको बताए।
उनले संविधानमा गभर्नरको पद रिक्त हुनुअघि नै एक महिनाभित्र नयाँ नियुक्ति गर्नुपर्ने व्यवस्था रहे पनि हाल त्यो प्रावधानको उल्लंघन भइरहेको भन्दै चिन्ता व्यक्त गरे।
त्यसैगरी, डा. कोइरालाले देशमा सुशासन र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने आवश्यकतामा जोड दिँदै हाल दण्डहीनता बढ्दै गएको बताए। उनले एकै प्रकरणमा पैसाको लेनदेन गर्ने व्यक्ति जेल जानु पर्ने तर पैसा लिने प्रदेश सांसदलाई उन्मुक्ति दिनु दण्डहीनताको चरम उदाहरण भएको टिप्पणी गरे।


