Thursday, July 2, 2026
Homeसामाचारमेलम्चीको पानी बालाजु क्षेत्र र नागार्जुन नगरपालिकामा वितरण गरिने

मेलम्चीको पानी बालाजु क्षेत्र र नागार्जुन नगरपालिकामा वितरण गरिने

काठमाडौं: काठमाडौँ उपत्यका खानेपानी लिमिटेडअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले मेलम्ची खानेपानी वितरण विस्तारका लागि काठमाडौँको बालाजु र नागार्जुन क्षेत्रमा प्रक्रिया अगाडि बढाएको छ।

खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनपछि पिआईडीले काठमाडौँ महानगरपालिका–१६ का बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिकाका वडा नं १ र २ अन्तर्गत कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेव लगायत क्षेत्रलाई लक्षित गर्दै मेलम्चीको प्रशोधित पानी वितरण प्रक्रिया सुरु गरेको हो।

पिआईडीका प्रमुख टिकाबहादुर चौधरीका अनुसार, उपत्यकामा स्वच्छ र प्रशोधित पानीको आपूर्ति विस्तार गरी नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यले सो योजना अघि बढाइएको हो। “मन्त्रीज्यूको निर्देशनपछि मेलम्चीको पानी वितरण अभियानअन्तर्गत हामीले आजै बोलपत्र आह्वान गरेका छौं,” चौधरीले बताए, “हाम्रो लक्ष्य भनेको स्वच्छ र प्रशोधित पानी नागरिकसम्म पु-याउनु हो।”

यस परियोजनाअन्तर्गत वितरण सञ्जाल सुधारका लागि रिङरोडको बलाजु खण्डमा करिब ३,८११ मिटर लम्बाइको नयाँ पाइपलाइन बिछ्याइनेछ। बालाजु ट्याङ्कीबाट प्रशोधित पानी आपूर्ति गरिने योजना रहेको पिआईडीले जनाएको छ।

मेलम्ची खानेपानी परियोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि २७० मिलियन लिटर पानी प्रतिदिन उपत्यकाका विभिन्न क्षेत्रमा वितरण गर्न सकिने अपेक्षा गरिएको छ।

खानेपानी मन्त्रालयले अबको वितरण प्रक्रिया व्यवस्थित र नियमित हुने विश्वास लिएको छ। यसले उपत्यकामा वर्षौँदेखि रहँदै आएको खानेपानी संकटलाई एक हदसम्म समाधान गर्नेछ।

फास्ट ट्रयाकअन्तर्गत निर्माणधीन सञ्जालमार्फत अब बालाजु र नागार्जुन नगरपालिकाका बासिन्दाले चाँडै नियमित रूपमा मेलम्चीको स्वच्छ र प्रशोधित पानी पाउने पक्का भएको पिआईडीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका