Thursday, July 2, 2026
Homeसामाचारआजदेखि सुरु हुँदै ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना काठमाडौँमा

आजदेखि सुरु हुँदै ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना काठमाडौँमा

काठमाडौँ: जलवायु परिवर्तन र त्यसको प्रभावबारे विश्व समुदायलाई जानकारी दिने तथा समाधानका उपाय खोज्ने उद्देश्यले सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ।

चारदिने यो अन्तर्राष्ट्रिय सम्मेलन जेठ ४ गतेसम्म चल्नेछ। संवादको मूल नारा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय गरिएको छ।

परराष्ट्रमन्त्री तथा संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाका अनुसार, सम्मेलनमा १२ देशका उच्चस्तरीय प्रतिनिधिमण्डल, १७५ विदेशी पाहुना र झण्डै त्यति नै संख्याका नेपाली सहभागी हुनेछन्। चीन, भारतलगायतका मुलुकका विशिष्ट अतिथिहरू नेपाल आइपुगेका छन् भने अन्य मुलुकबाट अतिथिहरू आउँदैछन्।

उद्घाटन समारोहमा संवादको चिनारीसहितको श्रव्यदृश्य सामग्री प्रस्तुत गरिनेछ। भारत र चीनका प्रतिनिधिहरूका साथै कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु सम्बन्धी प्रतिनिधिले पनि सम्बोधन गर्ने कार्यक्रम छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पठाएको भिडियो सन्देश पनि प्रस्तुत गरिनेछ। त्यसपछि प्लेनरी सेसन सञ्चालन हुनेछ, जसमा सहभागी देशहरू, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरूले आ–आफ्ना प्रस्तुति दिनेछन्।

आजैदेखि विभिन्न समानान्तर सत्रहरू सुरु हुनेछन्, जुन शनिबार बेलुकी ४:३० बजेसम्म चल्ने कार्यक्रम छ। यिनमा राजनीतिज्ञ, नीति निर्माता, विज्ञ, विद्वान र अनुसन्धानकर्ताहरूले जलवायु परिवर्तन तथा पर्वतीय क्षेत्रका समस्या र सम्भावनाबारे गहन छलफल गर्नेछन्।

सार्क, बिम्स्टेक, विश्व बैंक, एसियाली विकास बैंक, विश्वविद्यालयहरू, अनुसन्धान संस्था, नागरिक समाज र गैरसरकारी संस्थासहित ६१ स्वदेशी तथा विदेशी संस्थाहरू संवादमा सहभागी हुनेछन्।

संवाद व्यवस्थापनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको संयोजकत्वमा व्यवस्थापन समिति र वनमन्त्री ऐनबहादुर शाही ठकुरीको सहसंयोजकत्वमा समिति गठन गरिएको छ। साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सचिवालय गठन गरिएको छ।

सचिवालयका सदस्यसचिव तथा वन मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालका अनुसार, संवादमा उद्घाटन सत्र, प्लेनरी सेसन, समानान्तर सत्रहरू र केही साइड इभेन्टहरू सञ्चालन हुनेछन्।

तेस्रो तथा अन्तिम दिन विदेशी पाहुनालाई पर्वतीय उडानमार्फत हिमाल देखाउने व्यवस्था गरिएको छ भने कार्यक्रमको समापनमा काठमाडौँ घोषणा जारी गरिनेछ।

सरकारले सगरमाथा संवाद हरेक दुई वर्षमा आयोजना गर्ने निर्णय गरिसकेको छ। संयुक्त राष्ट्रसंघले सन् २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरिरहेको सन्दर्भमा संवादमा हिमाल र हिमनदीसम्बन्धी विषयलाई विशेष प्राथमिकता दिइनेछ।

सगरमाथा संवाद एक बहुसरोकारवाला अन्तर्राष्ट्रिय मञ्च हो, जसले विश्वव्यापी, क्षेत्रीय तथा राष्ट्रिय स्तरका महत्त्वपूर्ण मुद्दाहरूमा छलफलमार्फत मानवताको साझा हित र सामूहिक कल्याणको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका